धरान/ नयाँ शक्ति नेपालले पार्टी घोषणाको तयारी तिव्र पारिरहेका बेला एक नम्बर प्रदेश सम्पर्क संयन्त्रले सचिवालय निर्माण गरी जनपरिचालन तिव्र रुपमा अघि बढाएको जनाएको छ ।
सम्पर्क संयन्त्रले केन्द्रीय परिषद् सदस्य तथा संयन्त्र संयोजक देव लिम्बू लाबुङको संयोजकत्वमा १४ सदस्यीय सचिवालय निर्माण गरी जनपरिचालनलाई तिव्रता दिने बताएको छ । जनपरिचालनसँगै प्रचारप्रसारको नयाँ विधि समेत अवलम्बन गरी सबै नागरिकको जानकारीमा पार्टी घोषणा कार्यक्रमलाई लिएर जाने संयोजक लिम्बूले जानकारी दिए ।

[caption id="attachment_3341" align="aligncenter" width="800"]naya                                                                                                                                 बैठकका छलफल गर्दै नयाँ शक्तिका अभियान्ताहरु[/caption]

उपत्यकामा ५० स्थानबाट प्रचार
शुक्रबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको एक नम्बर प्रदेशको सम्पर्क संयन्त्रको बैठकले उपत्यकाका ५० प्वाइन्टमा जनपरिचालन गरी प्रचारप्रसारको नयाँ तरिका अवलम्बन गर्ने प्रस्ताव गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै नयाँ शक्तिका जनपरिचालन उपसमितिका संयोजक गंगानारायण श्रेष्ठले काठमाडौ उपत्यकाका ५० स्थान निर्धारण गरी पर्चापम्प्लेट वितरण गर्ने र सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुहरुलाई समेत पार्टी घोषणा सभामा निम्तो दिने बताए । बैठकमा बोल्दै संयोजक श्रेष्ठले सबै प्रदेशबाट परम्परागत जातीय झाँकी सहित नयाँ शक्तिका नेता कार्यकर्ता उपस्थित रहने बताए । ‘प्रत्येक प्रदेशका छुट्टाछुट्टै पहिचान र भेषभूषामा सहभागी काठमाडौ केन्द्रित हुने छन्’, संयोजक श्रेष्ठले भने, ‘पार्टी घोषणा सभामा सहभागी अनुशासित र सशक्त रुपले सहभागिता जनाउने विश्वास लिएका छौँ ।’
दशरथ रंगशालामा शक्ति केन्द्रित
नयाँ शक्ति नेपालको आगामि ३० गते हुने पार्टी घोषणा सभामा मुलुकका ७४ जिल्ला र २२ वटा विदेश विभागका सम्पूर्ण शक्ति दशरथ रंगशाला केन्द्रित हुने एक नम्बर प्रदेश सम्पर्क संयन्त्रको बैठकमा बताइएको छ ।
पुराना पार्टीहरुले देखाउँदै आएको तामझाम सडकमा गर्न नहुने प्रस्ताव राख्दै नयाँ शक्तिका केन्द्रीय सचिवालय सदस्य मदन राईले पार्टीको सम्पूर्ण शक्ति दशरथ रंगशालामा केन्द्रित हुनु पर्ने विचार राखे । पुराना पार्टीहरुले गर्ने नारा जुलुश र शक्ति प्रदर्शनले जनतालाई आजित बनाएको भन्दै नयाँ शक्तिले पुरानो विचारलाई त्यागेर सडकमा कुनै प्रकारको बाधा गर्न नहुने बताए । उनले पुराना पार्टीहरुले जस्तो प्रदर्शन गर्ने र टाफिकजाम गर्न हुँदैन भन्दै टाफिक जाम गर्ने र सडक अवरोध गर्ने कार्य नयाँ शक्तिले गर्न नहुने बताए ।
संयन्त्रले १० हजार सहभागी गराउने
नयाँ शक्ति नेपालको आगामि ३० गते हुने पार्टी घोषणा सभामा प्रदेश एकबाट दश हजार सहभागी भित्राउने संयन्त्र समितिको बैठकमा बताइएको छ ।
संयन्त्र समिति संयोजक देव लिम्बू लाबुङका अनुसार एक नम्बर प्रदेशमा घरदैलो कार्यक्रम लगायत सिर्जनात्मक प्रचारशैली अपनाई नेता कार्यकर्ता परिचालन गरिसकिएको छ । यता उपत्यकामा बसोबास गर्ने प्रदेश एकका स्थानीयलाई समेत परिचालन गरी घरदैलो अभियान सुरु गरिएको संयोजक लिम्बूले जानकारी दिए । ‘प्रदेश एकबाट संयन्त्रले दश हजार सहभागी भित्राउने लक्ष्य लिएको छ । त्यसका लागि हामीले व्यापक रुपमा कसरत गरेका छौँ ।’ संयन्त्र संयोजक लिम्बूले भने, ‘घरदैलो अभियान र प्रचारप्रसारका सिर्जनात्मक अभ्यासलाई प्राथमिकता दिएका छौँ, उल्लेखीय सहभागी हुने आशा छ ।’
संयन्त्र समिति बैठकमा पार्टीका केन्द्रिय सचिवालय सदस्यहरु पर्शुराम खापुङ, सोनाम छिरिङ शेर्पा, केन्द्रिय परिषद सदस्य तथा एक नम्बर प्रदेशका प्रवक्ता दलमर्दन कामीलगायतका नेताहरुको उपस्थिति रहेको थियो । संयन्त्रको अन्तिम तयारी बैठक आगामि जेठ २७ गते बस्ने संयोजक देव लिम्बूले जानकारी दिए ।