शनिश्चरे / आफुले ढालफाँड गरेको जग्गा अर्कैले दर्ता गरेर पूर्जा निकालेपछि मोरङको पथरीशनिश्चरेका सुकुम्बासी एवम् अव्यवस्थित बसोबासीहरुले पूर्जा खारेजीको माग राख्दै आन्दोलन अघि बढाउने चेतावनी दिएका छन् ।
सुकुम्बासी एवम् अव्यवस्थित बसोबासीहरुको संगठन नेपाल भूमिहिन सुकुम्बासी संगठनका केन्द्रीय उपाध्यक्ष मानप्रसाद लिम्बूको अगुवाईमा मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो बसोबासको जग्गा सट्टाभर्नाको नाममा भएको किर्तेदर्ता बदर गर्न माग गरिएको हो । ‘ढालफाँड गर्ने एउटा, पूर्जा निकाल्ने अर्कै ? यसखाले माफिया चलखेलका विरुद्ध हामी मेचीदेखि महाकालीसम्म आन्दोलन अगाडि बढाउने छौं । सरकारले छानविन गरेर ती पूर्जा खारेज गरी वास्ताविक जग्गा मालिकलाई पूर्जा प्रदान गरियोस् भन्ने सरकारसँग हाम्रो जोडदार माग छ ।’– लिम्बूले भने ।
कार्यक्रममा आयोजक संस्थामध्येको नेपाल बसोवास बस्ती संरक्षण समाज र राष्ट््िय भूमि अधिकार मञ्च नेपालमा आवद्ध रहेका तथा आवद्ध नरहेका स्थानीय वसोबासीहरुले आफुहरुले ढालफाँड तथा जोतभोग गरेर उर्वरा बनाएको भूमि कुनै हालतमा पनि नछोड्ने बताए ।
कार्यक्रमा, नेकपा एमालेका जिल्ला सदस्य रुपेश खतिवडाले कांग्रेस सहितका सवै दलको सहकार्य नभएकाले सर्वाेच्च अदालतले जोतभोगकर्ताहरुलाई उठाउने ३५ दिने सूचना जारी गर्न मद्धत पुगेको बताए । ‘यसखाले अन्यायका विरुद्ध एमालेले आवाज उठाउँदै न्याय दिलाउन पहल गर्ने छ ।’– खतिवडाले भने । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य भोगेन्द्र यादव, संघीय लिम्बूवान पार्टीका ज्ञानेन्द्र राई लगायतका दलका प्रतिनिधिहरुले पनि जोगभोगकर्ताहरुमाथि षडयन्त्र गरेर विस्थापित गराउन नहुनेमा जोड दिएका छन् । समूहले जोगभोगवाला वास्तविक जग्गा मालिकलाई विस्थापित गर्न नहुने जनाउँदै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएपछि पत्रकार सम्मेलन गरेको थियो ।
सट्टाभर्नाका नाममा २९ परिवारको जग्गा भोग चलन गराउन भनि सर्वाेच्च अदालतको आदेश अनुसार स्थानीय वसोवासीहरुले जग्गा खाली गर्न जिल्ला प्रशासन कार्यालयले जेठ ६ गते ३५ दिने सूचना जारी गरेपछि वस्तीका बासिन्दा आन्दोलित हुँदै आएका छन् । ०३५ सालदेखि ढालफाँड गरेर बसोवास गरेको अवस्थामा ०४२ सालताल सट्टाभर्नाको नाममा पूर्जा निकालेर आफुहरुमाथि ठूलो अन्याय गरिएको भन्दै यसअघि जेठ १३ गते उनीहरुले पथरीशनिश्चरेमा पत्रकार सम्मेलन गरेका थिए । खाली गर्न उर्दि गरिएको सो क्षेत्रमा करिव २ हजार परिवार रहेको अनुमान गरिएको छ ।