- उद्धव पुरी
बिर्तामोड/ लोपोन्मुख सन्थाल समुदायको भाषामा चलचित्र बन्ने भएको छ । झापा, मोरङ र सुनसरीमा बसोबास रहेको सन्थाल समुदायको भाषामा नेपालमै पहिलोपटक चलचित्र बन्न लागेको हो । santhal tripसन्थाल समुदायका भाषा, संस्कृति, भेषभूषा, रहनसहन तथा इतिहासलाई समेटेर चलचित्र निर्माण गर्न लागिएको हो । चलचित्रको नाम ‘बोनोदल’ रहेको छ जसको अर्थ ‘परिवर्तन’ हो । बिर्तामोड–२ चारपानेमा रहेको इन्स्पायर मिडिया प्रोडक्सन हाउसले सो चलचित्र निर्माण गर्न लागेको हो ।
 चलचित्रका निर्देशक किरण खतिवडा र सहनिर्देशक आकाश कडुवाल रहेका छन् । साढे ३५ लाख रुपैयाँको लागतमा बन्न लागेको सन्थाली चलचित्र ‘बोनोदल’ हालसम्म जातीय उत्थानका लागि नेपालमा बनेका चलचित्रमध्ये धेरै लगानीमा निर्माण हुन लागेको निर्मात्री जिया मरहठ्ठाले बताइन् ।
चलचित्रमा अधिकांश कलाकार सन्थाल समुदायकै विशिष्ट व्यक्तिहरुमध्येबाट छनोट गरिने निर्माण स्रोतले जनाएको छ । सन्थाल समुदायका अगुवा र सामाजिक संस्थाका नेतृत्वकर्ताले समेत अभिनय गर्ने निर्माण पक्षले जनाएको छ । चलचित्रका मुख्य पात्रहरु सुनिल हस्दा, मोहन टुडू, देवान टुडू, राजन वास्के, निस्सपेक्टर मुर्मू, कविता वास्के, बलराम हेमरम, रिता सुरेन मुर्मू, मिना टुडू, दीपेन्द्र कार्की, राजु राईलगायत छन् । मोहन सांसद्समेत हुन् । चलचित्रको छायाङ्कन आउँदो साता झापाको हल्दीवारी र चारपानेमा शुरु हुने छ । आगामी असोज पहिलो हप्तासम्ममा निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।
चलचित्रमा पाँचवटा गीत रहने निर्देशक खतिवडाले बताए । गीतमा जोना किस्कू र सरु टुडूको स्वर रहेको छ भने सङ्गीत संयोजन ज्योति तामाङले गरेकी छन् । चलचित्र पूर्ण रुपले सामाजिक जनचेतनामा आधारित हुने चलचित्रका लेखकसमेत रहेका खतिवडाले जानकारी दिए ।
चलचित्रको शुभमुहूर्त शुक्रबार गरिएको छ । पत्रकार सम्मेलन गरी चलचित्र टिमले चलचित्रबारे जानकारी गराएको थियोे । चलचित्र नेपालसहित भारतका सातवटा प्रान्त तथा बङ्गलादेश, भूटानलगायतका देशमा प्रदर्शन गरिने जनाइएको छ । सन्थाल समुदायको बसोबास रहेकाले ती ठाउँमा चलचित्र प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । समुदायका विविध पक्षलाई समेटेर व्यावसायिक चलचित्र निर्माण गर्न लागिएको निर्देशक खतिवडाले बताए । पत्रकार सम्मेलनमा निर्देशक खतिवडा, कलाकार बलराम हेमरम, देवान टुडूलगायतले बोलेका थिए । २०६८ को जनगणनाअनुसार नेपालमा सन्थाल समुदायको जनसङ्ख्या ५१ हजार ७ सय ३५ रहेको छ ।