चुम्लुङको संयोजनमा दुई दिने राजनीतिक सम्मेलन धरानमा
धरान / लिम्बूवान स्वायत्तता प्राप्तिका लागि आन्दोलनको रुपरेखा कोर्न सोमबार धरानमा राष्ट्रिय सम्मेलन शुरु भएको छ ।
दुईदिने सम्मेलनले आन्दोलनको रणनीति र कार्ययोजना तयार गर्दै साझा सहमति जुटाउने आयोजकले जनाएको छ । किरात याक्थुङ चुम्लुङको केन्द्रीय समितिले लिम्बूवान आन्दोलनको सहजीकरण गरिरहेको छ । यसका लागि चुम्लुङको संयोजकत्वमा एउटा सङ्घर्ष समिति गठन गरिएको छ जसमा तीन दशकदेखि लिम्बूवान आन्दोलनमा होमिएका राजनीतिक दलहरु सहभागी छन् ।
‘यो सम्मेलनको मूल उद्देश्य लिम्बूवान प्राप्तिका लागि कसरी आन्दोलन अघि बढाउने भन्ने नै हो ।’ चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तमसिं थाम्देनले भने । उनका अनुसार आन्दोलनको खाका तयार पार्नका लागि दुई दिनसम्म बहस र छलफल हुने छ । संविधान–२०७२ ले हक–अधिकारहरुलाई कसरी सम्बोधन गरेको छ भन्ने विषयमा पनि व्यापक छलफल गरिने उनले बताए ।
सम्मेलनमा लिम्बूवान, पहिचान र अधिकारसम्बन्धी चुम्लुङको अवधारणा महासचिव प्रेम येक्तेनले प्रस्तुत गरेका छन् । त्यस्तै संविधानमा आदिवासी जनजातिहरुका असहमतिका विषयमा कमल तिगेला र लिम्बूवानको राजनीतिक प्रस्ताव भवानी बरालले प्रस्तुत गरेका छन् । महासचिव येक्तेनले ऐतिहासिक लिम्बूवान भूगोलमा लिम्बूवान प्रदेश र पहिचानका आधारमा दश प्रदेश भएको नेपाल देश नभएसम्म लिम्बूवान प्राप्तिको अभियान जारी रहने बताए । लिम्बूवान प्राप्त नभएसम्म चुम्लुङले मुद्दा नछाड्ने पनि उनले जनाए ।
लिम्बूवान बुद्धिजीवी तिगेलाले नेपालको अन्तरिम संविधान २०६३ को धारा ५ (२), धारा ६ र धारा ७ मा भएका कुराहरु २०७२ मा धारा मात्रै परिवर्तन गरिएको तर कुनै पनि शब्द परिवर्तन नभएको जनाए । कामकाजी भाषा देवनागरी लिपीमै हुने उल्लेख भएकाले यथास्थितिमै संविधान बनेको उनको भनाइ छ । सम्मेलनमा विभिन्न १५ वटा दल तथा सङ्घ–संस्थाका प्रतिनिधि उपस्थित छन् । सम्मेलनमा समूह विभाजन गरी प्रस्तुतिहरु भएका छन् । उनीहरुले लिम्बूवान आन्दोलनलाई सकारात्मक रुपमा लिँदै अघि बढ्ने बताए ।