- भोजराज श्रेष्ठ,
धरान/ नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी सङ्घका सुनसरी अध्यक्ष भोलानाथ चौधरीले आजीवन सदस्यहरुबाट सङ्कलित रकममा पनि अनियमिमता गरेको रहस्य खुलेको छ । यसअघि आजीवन सदस्य लोकनाथ कोइरालाले सङ्घलाई दिएको एक लाख रुपैयाँ अपचलन गरेको भेद खुलेको थियो । आजीवन सदस्यहरुबाट सङ्कलन गरी कृषि विकास बैङ्कको धरान शाखामा राखिएको रकममध्ये ७४ हजार ७ सय ६ रुपैयाँ अध्यक्ष चौधरीले अपचलन गरेको रहस्य खुलेको हो । संस्थाका अन्य पदाधिकारीहरुले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो रहस्य सार्वजनिक गरेका हुन् ।
उनीहरुले पत्रकार सम्मेलन गरिरहँदा चौधरीले पनि पत्रकार महासङ्घ, सुनसरीको कार्यालयमा छुट्टै पत्रकार सम्मेलन गर्दै ब्लाष्टमा आएको समाचार सत्य नभएको, बरु अन्य पदाधिकारीहरुले भवन निर्माणमा अनियमितता गरेको आरोप लगाएका थिए । उनले अन्य पदाधिकारीले रकम हिनामिना गरेको गुनासो गरेका थिए । लिखित दस्तावेजहरु भने केही पनि प्रस्तुत गरेका थिएनन् ।
बैङ्क स्टेटमेन्टअनुसार कृषि विकास बैङ्कको खाता नम्बर ०६०२७००३४११४६०१४ मा राखेको २ लाख १३ हजार ३ सय १५ मध्ये ७४ हजार विभिन्न मितिमा निकालेर खाइसकेको सङ्घका उपाध्यक्ष झलकबहादुर श्रेष्ठले बताए । उनले ७४ हजार ७ सय ६ रुपैयाँ विभिन्न मितिमा आपूmखुसी निकालेको पाइएको उनले बताए । हाल बैङ्कमा ९ सय ८२ रुपैयाँ ६२ पैसा मात्रै बचत छ ।
बैङ्कमा अध्यक्ष चौधरी, महासचिव भेगलाल श्रेष्ठ र कोषाध्यक्ष दिलबहादुर राईको हस्ताक्षर चल्ने उनले बताए । महासचिव श्रेष्ठले आपूmले चेकहरुमा हस्ताक्षर नगरेको बताए । सङ्घको भवन निर्माणका लागि मिना सुब्बा शान्ति तथा विकास कार्यक्रमबाट पञ्चवर्षीय योजनाअनुरुप विनियोजित ३० लाखमध्ये पहिलो किस्ता ३ लाख विनियोजन गर्दा पनि अध्यक्ष चौधरीले ३० हजार मागेको निर्माण समितिको आरोप छ ।
‘शान्ति तथा विकास कार्यक्रम आएको ३० लाख रुपैयाँबाट पनि पहिलो किस्ता झिक्दा ३० हजार मागेका थिए’, भवन निर्माण उपभोक्ता समितिका सचिव कुमार श्रेष्ठले भने, ‘त्यो नदिँदा पनि जिल्लामा गएर रकम निकासामा रोक्का गरेपछि बाध्य भएर २० हजार दिएर मात्रै खुलाएको थियो ।’ चौधरीले जिल्ला प्राविधिक कार्यालयमा बारम्बार गएर भवन निर्माण समितिमा विवाद आयो भन्दै बखेडा झिक्ने काम गरेको सचिव श्रेष्ठले बताए ।
धरान–२१ मा निर्माण भइरहेको भवनमा ट्रष्ट लगाउने क्रममा पनि ठेकेदारसँग ३० हजार मागेको र सो रकममध्ये १० हजार उनकै श्रीमतीलाई ठेकेदारले दिइसकेको बुझिएको उनले बताए । ट्रष्टको ठेक्का पाएको राजन घिमिरेले भने २७ लाखको काम छ, त्यसबापत् २५ हजार चाहिन्छ भनेर एकजना भाइले भनेको बताए । चौधरीले भने आपूmसँग रकम नमागेको उनले प्रष्ट्याए । पछि त्यही भाइलाई दिन खोज्दा उसलाई नभेटेपछि चौधरीकी श्रीमतीलाई १० हजार दिएको उनले बताए ।
समितिले अध्यक्षविरुद्ध जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइसकेको जनाएको छ । सङ्घले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी र धरान उपमहानगरपालिकालाई समेत यसको बोधार्थ दिएको छ ।