काठमाडौँ(ब्लाष्ट) उत्तर–पश्चिमी बङ्गलादेशमा शनिबार इस्लामिक लडाकू समूह आईएसका सदस्यले एक प्राध्यापकको उनको घरनजिकै घाँटी रेटेर हत्या गरेका छन् ।
मुस्लिमको बाहुल्य देश बङ्गलादेशमा केही समययता ब्लगर, बुद्धिजीवी र सामाजिक कार्यकर्तामाथि लगातार आक्रमण बढ्दै गएको छ । पुलिसका अनुसार अङ्ग्रेजीका प्राध्यापक ५८ वर्षीय एएफएम रेजौल करिम सिद्दीकी बिहान साढे ७ बजे राजशाही विश्वविद्यालय जान घरबाट हिँडेका थिए ।
त्यही बेला मोटरसाइकलमा सवार केही व्यक्तिले छुराले तीनपटक घाँटी रेटेर उनको हत्या गरेका हुन् । अमेरिकास्थित निजी जासुस एजेन्सी समूह एसआईटीईका अनुसार यो हत्याको जिम्मेवारी आईएसले लिएको छ । आईएसले ट्वीट गरेर जनाएअनुसार प्राध्यापक सिद्दीकी बङ्गलादेशमा नास्तिकताका समर्थक भएकाले उनको हत्या गरिएको हो ।
सिद्दीकीका साथीले बताएअनुसार उनी विश्वविद्यालयमा हुने हरेक सांस्कृतिक गतिविधिमा सहभागी हुन्थे । प्रायःजसो उनी बाँसुरी र सितार बजाउँथे । यो हत्याको विरोध गर्दै विद्यार्थीहरुले विश्वविद्यालयमा जुलुस निकालेर दोषीलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् ।