काठमाडौँ(ब्लाष्ट) साझा यातायात सञ्चालक समितिका अध्यक्ष एवम् हिमाल मिडियाका सञ्चालक कनकमणि दीक्षितलाई तत्काल रिहा गर्न अन्तर्राष्ट्रिय समूहले दवाब दिएको छ ।
विभिन्न देशका सम्पादक, कानून व्यवसायी र मानवअधिकारवादीले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै शनिबार दीक्षितलाई रिहा गर्न नेपाल सरकारलाई दवाब दिएका हुन् । विज्ञप्तिमा दीक्षितलाई रिहा गरी पारदर्शी ढङ्गले छानबिन गर्न माग गरिएको छ । ‘हामी नेपाल सरकारसमक्ष दीक्षितलाई रिहा गरी पूर्वाग्रहरहित तरिकाले उनीमाथि लागेका आरोपहरुको छानबिनको माग गर्दछौँ ।’ विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा दीक्षित दक्षिण एशियाकै सक्रिय मानवअधिकारवादी र सच्चा पत्रकार भएको जनाइएको छ ।
विभिन्न सात देशका विशिष्ट व्यक्तिको नाम रहेको विज्ञप्तिमा दीक्षित पक्राउ परेकामा गम्भीर चासो रहेको उल्लेख छ । विज्ञप्तिमा दीक्षित मानवअधिकार रक्षक र ऊर्जावान पत्रकार भएकाले उनको रक्षाका लागि सरकारलाई गम्भीर हुन आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उनको अधिकार र सुरक्षाप्रति हामी गम्भीर छौँ ।’ विज्ञप्तिमा नेपाल, भारत, श्रीलङ्का, अष्ट्रेलिया, अमेरिका र बेलायतका विभिन्न क्षेत्रका व्यक्तित्वको नाम समेटिएको छ ।
भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीक्षितलाई शुक्रबार पाटनढोकाबाट पक्राउ गरेको हो ।