धरान । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानहरूमा सूर्यज्योतिको न्यानोपन अभियान सञ्चालन गरी कम्बल तथा न्यानो कपडा वितरण गरेको छ ।

कम्पनीले देशभर बढिरहेको चिसोको कहरबाट बच्न असहाय बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्गलाई सहयोगको सुरुवात गरेको हो । अभियान ललितपुर क्षेत्रका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्य तथा सातदोबाटो शाखाका शाखा प्रमुख लोइस थापाद्वारा नेपाल स्नेही काख र सत्प्रयास नामक संस्थामा सञ्चालन गरिएको थियो । त्यस्तै गुल्मीमा बौद्धिक÷बहिरा–अपाङ्गता भएका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण र माझीगाउँ बलिथुमका विपन्न परिवारहरूलाई न्यानो कपडा वितरण गरिएको थियो ।

उक्त अभियान अन्तर्गत लक्ष्मीनियाँ गाउँपालिकामा गरिब तथा विपन्नहरूलाई कम्बल वितरण गरेको थियो । लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रको प्रमुख आतिथ्य र सूर्यज्योति लाइफ इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख दीपेन्द्र यादवको उपस्थितिमा १ सयभन्दा बढी विपन्न परिवारलाई कम्बल वितरण गरिएको थियो । साथै जलेश्वर, लहान र वीरगञ्जमा पनि कम्बल वितरणका कार्यक्रमहरू गरिएको थियो ।

केही हप्तादेखि चिसो क्रमिक रूपमा बढ्दै गएकोले यसबाट जोगिन न्यानोको लागि कम्बल तथा कपडा वितरण अभियान चलाइएको र यस किसिमको अभियान देशका अन्य विभिन्न स्थानमा पनि गर्दै जाने प्रतिबद्धता जनाउँदै आफ्ना बिमितहरूले पाउने सेवा सुविधालाई अझ सुदृढ गर्दै लैजाने प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले व्यक्त गरे ।