भद्रपुर/मेची अञ्चलको एकमात्र सरकारी क्याम्पस पछिल्लो समय प्राविधिक शिक्षातर्फ उन्मुख भएको छ ।

विगत ५४ वर्षअघि पेट्रोलमेक्स बालेर अध्ययन शुरु गरिएको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा हाल विभिन्न पाँचओटा प्राविधिक विषयको पठन–पाठन सञ्चालनमा आएसँगै यसको मुहार फेरिएको हो । नेपाल सरकारको शैक्षिक नीतिमा आएको परिवर्तनसँगै विश्वविद्यालयले पनि आफ्नो पठन–पाठन र त्यसको सञ्चालन विधिमा परिवर्तन गरेअनुसार विभिन्न विषयका समयसापेक्ष कक्षाहरु सञ्चालन हुँदै आइरहेका छन् । वि.सं. २०५५ सालदेखि विकेन्द्रीकरणमा गएको यस क्याम्पसले स्थापनाको ५० औं वर्षको अवसर पारेर स्वर्ण महोत्सव मनाइसकेको छ । ०७३ जेठदेखि स्वायत्ततामा प्रवेश गरिसकेको यो क्याम्पसले स्वरोजगारमूलक विषयहरु क्रमशः थप गर्दै लगेको छ । हाल यो क्याम्पसमा बिबिए, बिसिए, बिएस्सी आइटी, बिएस्सी इन्भाइरोन्मेन्ट कक्षा सञ्चालन भइरहेका छन् भने बिएस्सी सिएसआइटीको पनि स्वीकृति पाइसकेकोले कक्षा सञ्चालनको अन्तिम चरणमा पुगेको शैक्षिक शाखाले जनाएको छ ।

क्याम्पसमा बिएस्सी टिटिएम(चिया प्रविधि) भने हाल विद्यार्थी नभएर एक वर्षयतादेखि पठन–पाठन बन्द भएको छ । उल्लेखित विषयहरुमा निश्चित सिट हुने भएकोले विद्यार्थी सङ्ख्या सो अनुरुप भएको क्याम्पसका प्राध्यापक गङ्गाराम ढुङ्गेलले बताए । आउँदा वर्षहरुमा थप बिएस्सी नर्सिङ, इपिएम, भौतिक तथा रसायनशास्त्र र ग्रामीण विकास विषयमा स्नातक र स्नातकोत्तर तहका कक्षा सञ्चालन गरी व्यवसायिक र प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने सोच अघि बढाइएको प्राध्यापक ढुङ्गेलको भनाइ छ । क्याम्पसमा ५ हजार विद्यार्थी अध्ययनका लागि आइरहेको अवस्थामा विश्वविद्यालयले नियम मिचेर एक किलोमिटरको दूरीमा स्नातक तह अध्ययनको लागि अनुमति दिएका कारण विद्यार्थी सङ्ख्या घटेको उनले बताए ।  विज्ञान विषयको पढाइ अन्य स्थानमा नहुने भएकोले टाढा –टाढाबाट सो विषयका विद्यार्थी आउने गरेको उनले सुनाए । हाल १६ सय ६३ जना विद्यार्थीले अध्ययन गरिरहेको उनको भनाइ छ । पूर्वका अधिकांश जिल्लाबाट अध्ययन गर्न आउने गरेको यस क्याम्पसमा शैक्षिक नीतिका कारण बीचमा केही खस्के पनि पछिल्लो समय सुधारोन्मुख हुँदै गएको पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहालले बताए । अबको समय प्राविधिक शिक्षातर्फ ढल्केकोले क्याम्पसले प्राविधिक शिक्षामा जोड दिँदै गुणस्तरीय अध्ययन दिन आवश्यक देखिएको दाहालको  भनाइ छ ।

सो समयमा उच्च अध्ययनको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यतालाई महसुस गर्दै २००२ सालमा भद्रपुर हाईस्कुलको स्थापना भएको थियो । झापा र इलामका विद्यार्थीले एसएलसी परीक्षा दिन भारतको कटिहार र जोगवनीहुँदै धरान जाने गरेका थिए । वि.सं. २०२० सालदेखि एसएलसीको परीक्षा भद्रपुरमा नै हुन थालेपछि वि.सं. २०२१ असोज १२ गते तात्कालीन बिग्रेडियर जनरल भुपालमानसिंह कार्कीको सक्रियतामा भद्रपुर हाईस्कुलको भवनभित्र पेटङेलम्याक्स बालेर साँझ ५ देखि ९ बजेसम्म कक्षा सञ्चालन हुने गरी मेची महाविद्यालयको नामले क्याम्पसको स्थापना भएको थियो ।  मानविकी सङ्कायको आइ.ए.तहबाट शुरु भएको क्याम्पसलाई आफ्नै भवनमा सञ्चालन गर्नको लागि चन्द्रगढीका वेचन हरिचनले नगद २५ रुपैयाँबाट चन्दा उठाउन शुरु गरेको इतिहास छ । वि.सं. २०२३ साल भदौ १२ गते तात्कालीन अञ्चलाधीश बद्रीविक्रम थापाको सक्रियतामा भद्रपुर –८ मा ७ बिगाहा १० कठ्ठा दानबाट र सोही क्षेत्रफल बराबरको जमिन क्याम्पसले खरिद गरी वि.सं. २०२७ सालदेखि आफ्नै भवनमा पठन–पाठन सञ्चालन गर्दै आएको उल्लेख छ । क्याम्पसमा २०३९ सालबाट आई.कम. अध्यापन हुँदै विद्यार्थीको चाप अत्यधिक बढेपछि बिहान, दिउँसो र सन्ध्याकालीनमा समेत पढाइ हुने गरेको प्राध्यापकहरु बताउँछन् । झापाभित्रका विभिन्न दाताहरुले निःशुल्क प्रदान गरेको र क्याम्पसले खरिद गरेको गरी १ सय ४६ बिगाहा १८ कठ्ठा साढे १६ धुर जग्गा क्याम्पसको रहेको छ । १ सय २६ जना शिक्षक र ५४ जना कर्मचारी कार्यरत रहेको प्रशासन शाखाले जनाएको छ ।