विजयपुर । कोशी प्रदेशका उदयपुर, झापा, सुनसरी र मोरङ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।
झापाको अर्जुनधारा नगरपालिका–६, महानन्द चोकबाट इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले इलामको चुलाचुली नगरपालिका–१ का २१ वर्षीय सन्जोक लुइटेललाई १ ग्राम ४७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । सोही स्थानबाट बिर्तामोड नगरपालिका–४ का २४ वर्षीय अरबस अन्सारीलाई ३०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित अन्नपूर्ण चोकमा लागूऔषध सेवन तथा कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २० वर्षीय सुमित पौदारलाई १२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–५, मुसहरीटोलमा हातमा धारिलो हतियार (तरवार) बोकी स्थानीयलाई त्रसित बनाइरहेको सूचनापछि प्रहरी चौकी भरौलबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बराहक्षेत्र–५ का १८ वर्षीय मनोज मुसहर र रामधुनी नगरपालिका–५, हात्तिसारका ३० वर्षीय मनिराज राई रहेका छन्। उनीहरूको साथबाट २६० पिस प्रतिबन्धित औषधि तथा धारिलो हतियार तरवार बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको छ।
यसैबीच, लागूऔषध मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका मोरङको केराबारी गाउँपालिका–६ का २३ वर्षीय याकु भन्ने प्रकाश लिम्बुलाई इलाका प्रहरी कार्यालय धरानले आफ्नै घरबाट पक्राउ गरेको छ।
लिम्बुविरुद्ध सुनसरी जिल्ला अदालतले २०८३ जेठ २६ गते फैसला गर्दै ४ महिना २१ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनी फरार रहेको प्रहरीले जनाएको छ।