तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’ अन्त्य नगरेसम्म विश्वकै प्रमुख ऊर्जा पारवहन मार्गमध्ये एक हर्मुज जलसन्धि बन्द रहने चेतावनी दिएको छ । साथै, अमेरिकाको हितसँग जोडिएका अन्य क्षेत्रीय तेल तथा ग्यास निर्यात मार्गहरू पनि निशानामा पर्न सक्ने आइआरजिसीको भनाइ छ ।
फेब्रुअरीको अन्त्यदेखि जारी अमेरिका–इरान द्वन्द्वका कारण खाडी क्षेत्रबाट हुने तेल तथा ग्यास ढुवानीमा गम्भीर असर परेको छ । विशेषगरी विश्व ऊर्जा आपूर्तिको महत्त्वपूर्ण मार्ग मानिने हर्मुज जलसन्धिमा अवरोध उत्पन्न भएपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत चिन्ता बढेको छ ।
इरानी सरकारी टेलिभिजन आइआरआइबीका अनुसार आइआरजिसीले अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप बहराइन र कुवेतस्थित अमेरिकी सैन्य सुविधामाथि आक्रमण गरिएको जनाएको छ । त्यससँगै अमेरिकाको आर्थिक तथा रणनीतिक हितसँग सम्बन्धित समुद्री ऊर्जा मार्गहरू थप जोखिममा पर्न सक्ने चेतावनी पनि दिइएको छ ।
आइआरजिसीले जारी गरेको विज्ञप्तिमा अमेरिकाले आफ्नो समुद्री गतिविधिमार्फत विश्वव्यापी तेल तथा ग्यास आपूर्ति शृङ्खलामा प्रभाव पार्ने प्रयास गरेको आरोप लगाउँदै त्यसको परिणामस्वरूप अमेरिकाका सहयोगी राष्ट्रहरूले प्रयोग गर्ने अन्य ऊर्जा निर्यात मार्गहरू पनि अवरुद्ध हुन सक्ने उल्लेख गरिएको छ । यद्यपि कुन–कुन मार्ग प्रभावित हुन सक्छन् भन्नेबारे कुनै विवरण सार्वजनिक गरिएको छैन ।
विज्ञप्तिमा ‘यस क्षेत्रबाट हुने तेल र ग्यास निर्यात या त सबैका लागि हुनेछ वा कसैका लागि पनि हुनेछैन’ भन्ने चेतावनीसमेत दिइएको छ । आइआरजिसीले आफ्नो प्रतिकारात्मक कारबाही निरन्तर जारी रहने र अमेरिकाले आक्रमण नरोकेसम्म हर्मुज जलसन्धि बन्द रहने स्पष्ट पारेको छ ।
यता, अमेरिकी अधिकारीहरूले भने इरानले हर्मुज जलसन्धिमा पूर्ण नियन्त्रण कायम गर्न सक्ने दाबी अस्वीकार गर्दै अन्तर्राष्ट्रिय समुद्री ढुवानी मार्गहरू खुला राख्न आवश्यक सबै कदम चालिने बताउँदै आएका छन् । रासस रएएफपी