विजयपुर । धरान उपमहानगरपालिकामा दलित ऐन निर्माण गर्न माग गरिएको छ ।
सोमबार विश्वकर्मा कल्याण सेवा समितिद्वारा आयोजित भित्ते पात्रो वितरण तथा नयाँ वर्ष शुभकामना कार्यक्रममा दलित अधिकारकर्मीहरूले ऐन निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्न माग गरेका हुन् । कोशी प्रदेश सभाकी निवर्तमान सांसद उमिता विश्वकर्मा (रिमा) ले धरानका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघासमक्ष दलित अधिकार ऐन निर्माणको आवश्यकता औंल्याइन् । उनले सरकारले १५ दिनभित्र दलित समुदायसँग प्रधानमन्त्रीले माफी माग्ने कार्यसूची बनाएको भए पनि हालसम्म कार्यान्वयन नभएकोप्रति आशंका व्यक्त गरिन् । उनले भनिन्, “कसको दबाबमा माफी रोकिएको छ कि? क्षतिपूर्तिसहित माफी मागिनुपर्छ ।” कार्यक्रमका प्रमुख अतिथि तथा कार्यवाहक नगर प्रमुख बेघाले दलित ऐन निर्माणका लागि आवश्यक छलफल भइरहेको जानकारी दिए । समाजका निवर्तमान अध्यक्ष खड्गबहादुर विश्वकर्माले सबैलाई एकजुट भएर अगाडि बढ्न आह्वान गरे । समाजका अध्यक्ष घमानसिंह विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वअध्यक्षलगायत अन्य व्यक्तिहरूको उपस्थिति रहेको महासचिव बलिन्द्र बराइलीले जानकारी दिए ।