विराटनगर । विराटनगरबाट चोरी भएका सिटी सफारीहरू कवाडी गोदाममा पु¥याएर टुक्राटुक्रा पारी बिक्री गर्ने गरिएको खुलासा भएको छ । विराटनगर–६ सरौचियास्थित विजय सहनीको कवाडी गोदाममा चोरीका सफारी फेला परेपछि यस्तो तथ्य बाहिर आएको हो ।
मोरङ प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा बुधबार दिउँसो उक्त गोदाममा छापा मारिएको थियो । प्रहरीले खानतलासी गर्दा गोदामभित्र प्लाष्टिकजन्य कवाडी सामानले खप्ट्याएर लुकाइराखेको अवस्थामा दुई थान सिटी सफारीका पार्टपूर्जाहरू फेला पारेको छ ।
मोरङ प्रहरीका प्रवक्ता एवम् डिएसपी लीलाराज लामिछानेका अनुसार चोरीका सफारी खरिद गरेर त्यसका पार्टपुर्जा अलग्याई लुकाएर राखिएको अवस्थामा बरामद गरिएको हो । “विराटनगर र आसपासका क्षेत्रबाट चोरी भएका सिटी सफारीहरू यो गोदाममा खरिद गर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ” डिएसपी लामिछानेले भने, “अहिले हामी अनुसन्धानकै क्रममा छौँ, थप विवरण खुल्न बाँकी छ ।”
गोदाम सञ्चालक सहनीले कति रकममा चोरीका सफारी खरिद गर्थे भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ । प्रहरी टोली पुगेको थाहा पाउनेबित्तिकै सञ्चालक सहनी भने फरार भएका छन् । विराटनगरसहित मोरङका विभिन्न स्थानमा पछिल्लो समय सिटी सफारी चोरी हुने क्रम बढेपछि प्रहरीले निगरानी तीव्र पारेको थियो । फरार सहनीको खोजी भइरहेको र बरामद गरिएका पार्टपुर्जाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।































