ललितपुर । गलत नम्बर डायल गरी फोन गरेको विषयमा विवाद हुँदा झापाको कमल गाउँपालिकाका दुई युवाको हत्या गरिएको छ । 

झापाको कमल गाउँपालिका–६ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल बस्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २५ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले बुधबार राति दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको प्रारम्भिक विवरणअनुसार ३३ वर्षीय सुमित नेम्बाङले फोन गर्ने क्रममा गलत नम्बरमा डायल गरेका कारण सामान्य विवाद भएको थियो । फोन गर्ने क्रममा झुक्किएर अपरिचित नम्बरमा फोन गएको र रिसिभ गर्ने व्यक्तिले गालीगलौज गरेपश्चात् उनीहरूबीच भनाभन भएको प्रहरीले जनाएको छ । 

भनाभन भएपश्चात् दुवै पक्ष मिल्ने भन्दै ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्र मङ्गलबजारस्थित कृष्ण मन्दिरमा भेट्ने सहमति गरेका थिए । सुमित आफ्नो भाइ सिर्जनसहित केही साथीहरूसँग दिउँसोदेखि नै मङ्गलबजारमा घुमिरहेका थिए । उनीहरू विदेश जानका लागि ललितपुर पुगेको बताइन्छ ।

अर्को पक्षले पनि कृष्ण मन्दिरमा भेटघाट गर्न बोलाएको र सोही क्रममा अर्को पक्ष आई सुमितमाथि छुरा प्रहार गरेको थियो । प्रहरीका अनुसार सञ्जीव नेपालीले आफ्नो साथमा ल्याएको मासु काट्ने छुराले सुमितमाथि प्रहार गरेका थिए । सो घटनामा भाइ सिर्जनले बचाउने क्रममा उनीमाथि पनि प्रहार भएको नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ । 

सिर्जनमाथि घाँटी र पेटमा छुरा प्रहार गरी सञ्जीव भागेका थिए । उनी ललितपुर महानगरपालिका–९ भोलढोका बस्दै आएका थिए । यस्तै उनलाई सहयोग गर्ने सोही महानगरपालिका–८ सुबहाल बस्दै आएका नवलपरासी पूर्व घर भएका २१ वर्षीय गगन सुनारलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

घटनास्थल ललितपुर  महानगरपालिका–१२ कृष्णमन्दिरमा पर्दछ । गम्भीर घाइते भएका उनीहरूलाई तत्कालै बी एण्ड बी अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारको क्रममा दाजुभाइकै ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरको नेतृत्वमा खटिएको प्रहरीले केही समयपश्चात् अभियुक्त दुवैजनालाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट चक्कुसमेत बरामद गरिएको जनाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।