काठमाडौँ । देशभरका किसानहरूलाई डिजिटल र प्रिमियम कृषि सेवाहरू उपलब्ध गराउन एनसेल र डिजिटल कृषि प्लेटफर्म सुपर कृषकले सहकार्य गरेका छन् ।
मोबाइल फोनमार्फत् सहजै सबै किसानसम्म आधुनिक कृषि सेवाहरू उपलब्ध गराउने उद्देश्यले सहकार्य गरिएको जनाइएको छ । नेपालको कृषि क्षेत्रलाई डिजिटल बनाउने यात्रा तथा कृषि क्षेत्रमा रहेको डिजिटल असमानता घटाउने विश्वास लिइएको छ । हालसम्म देशका ३० हजारभन्दा बढी किसानहरू सुपर कृषक प्लेटफर्ममा दर्ता भइसकेका छन् ।
यस प्लेटफर्ममार्फत् अनलाइन कृषि तालिम, कृषि डाक्टर, तथा कृषि चीना (स्याटेलाइट अनुगमन) जस्ता डिजिटल उपकरण र सेवाहरू उपलब्ध रहेको जनाइएको छ । किसानहरूलाई आफ्नै मोबाइल फोनमार्फत वास्तविक समयमै कृषि परामर्श, रोगकीरा तथा बाली समस्या पहिँचान, र बाली अनुगमनसम्बन्धी जानकारी प्राप्त गरी स्वमूल्याङ्कन गर्न सक्षम बनाउने जनाइएको छ ।
देशका प्रत्येक जिल्लाका किसानहरूले आफ्नो मोबाइल फोनमार्फत् उन्नत, सुलभ र स्थानीय आवश्यकता अनुकूल कृषि परामर्श प्राप्त गर्न सक्ने जनाइएको छ । उच्च पहाडदेखि तराईका फाँटसम्म अब किसानका हात हातमा विशेषज्ञको सल्लाह सुझाव अनि आधुनिक प्रविधिको पहुँच सुनिश्चित भएको छ । एनसेलको बृहत् नेटवर्क पहुँच र लाखौँ सक्रिय ग्राहकहरू भएकाले अब सुपर कृषकका प्रिमियम सेवाहरू आम किसानहरूलाई एक भ्यालु एडेड दूरसञ्चार सेवाका रूपमा उपलब्ध भएको छ ।
किसानहरूले सुपर कृषक एपमार्फत् यो सेवा लिन सक्छन् । यस एपमा विभिन्न अवधिका सदस्यता प्याकेजहरू उपलब्ध छन् । एक वर्षको प्याक किस्ताबन्दीमा लिन चाहनेले प्रत्येक तीन दिनमा १३ रुपैयाँ तिर्दै वार्षिक १ हजार ५ सय ६० रुपैयाँ खर्चिनुपर्ने एनसेलले जनाएको छ । कृषि डाक्टर सुविधामार्फत् कृषकहरूले ८ सयभन्दा बढी बालीका रोगकीरा तथा अन्य समस्याहरूको पहिचान एआई मार्फत् गर्न सक्ने जनाइएको छ । एनसेल र सुपर कृषकले यो सेवा अबको एक वर्षमै १ लाख २० हजारभन्दा बढी किसानसम्म पु¥याउने लक्ष्य लिइएको छ ।
































