विराटनगर । स्वास्थ्य क्षेत्रमा लागेका एक युवकले आफ्नै जीवनसङ्गिनीको बीभत्स हत्यापछि आफूले पनि आत्महत्या गरेका छन् । 

मोरङको रङ्गेली नगरपालिका–५ बहुवनका २२ वर्षीय मुकेश मण्डलले उनकी २१ वर्षीया श्रीमती अम्विका मण्डलको हत्या गरेका हुन् । श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेका छन् । दुई महिना अघि विवाहबन्धनमा बाँधिएका उनीहरूको जीवन मङ्गलबार बिहान समाप्त भएको छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आकस्मिक कक्षमा विगत एक वर्षदेखि हेल्थ असिस्टेन्ट (एचए) का रूपमा कार्यरत मुकेशले मङ्गलबार बिहान करिब २ः४५ बजेतिर ससुराली घरमै श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका हुन् ।

मुकेश र अम्विकाले गत मङ्सिर १२ गते रङ्गेलीको प्रसिद्ध सन्सारी माईस्थान मन्दिरमा प्रेमविवाह गरेका थिए । गाउँकै युवतीसँग वैवाहिक बन्धनमा बाँधिएपछि यो जोडीले विराटनगरमा डेरा लिएर नयाँ संसार बसाउने प्रयास गरेका थिए । तर, उनीहरूको खुसी धेरै दिन टिक्न सकेन ।

प्रेमविवाह भए पनि मुकेशले विवाह दर्ता गर्न आनाकानी गर्दै आएका थिए । आफ्नो भविष्य सुरक्षित नदेखेपछि अम्विकाले एक महिनाअघि जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएकी थिइन् । प्रहरीको रोहवरमा मुकेशलाई झिकाइयो र अन्त्यमा मोरङ अदालत पुगेर विवाह दर्ता भयो । कानूनीरूपमा सम्बन्ध आधिकारिक त बन्यो तर त्यसले उनीहरूबीचको सम्बन्धमा भने ठूलो खाडल बनायो । विगत १५ दिनदेखि अम्विका विराटनगरको डेरा छाडेर माइती घर (रङ्गेली–५, धनपट्टी) मा बस्दै आएकी थिइन् ।

मुकेशका जेठा दाजु सुधीरका अनुसार, मुकेश विराटनगरमै काम गरिरहेका होलान् भन्ने परिवारको बुझाइ थियो । तर, सोमबार राति साढे १० बजेतिर मुकेश आफ्नो घरबाट करिब दुई किलोमिटर टाढा रहेको ससुराली पुगे । त्यहाँ उनीहरूले सँगै खाना खाए र सुते ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार मङ्गलबार बिहानको राति उनीहरूबीच फेरि विवाद सुरु भयो । विवादले उग्ररूप लिएपछि मुकेशले अम्विकामाथि अन्धाधुन्ध चक्कु प्रहार गर्दा अम्विकाको घटनास्थलमै मृत्यु भयो । श्रीमतीको मृत्यु निश्चित भएपछि मुकेशले सोही चक्कुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

अम्विका आफ्ना बुबा बालेश्वर मण्डलकी एक मात्र छोरी थिइन् । उनका एक भाइ र आमा छन् । पेसाले राजमिस्त्री बालेश्वर घटनाको समयमा कामको सिलसिलामा झापाको दमकमा थिए । घरको एक्ली छोरीको हत्या र ज्वाइँको आत्महत्याको खबरले परिवार मात्र होइन, सिङ्गो रङ्गेली गाउँ नै शोकमा डुबेको छ ।

घटनाको जानकारी पाउनेबित्तिकै एसपी कवित कटवालको टोली घटनास्थल पुगेको थियो । प्रहरीले दुवैको शव मुचुल्का उठाएर पोष्टमार्टमका लागि कोशी अस्पतालमा ल्याएको छ । 

“प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच पहिलेदेखि नै खट्पट थियो । विवाह दर्तापछि झन् सम्बन्ध बिग्रिएको देखिन्छ” एसपी कटवालले भने, “स्वास्थ्यकर्मी जस्तो जिम्मेवार पेसामा रहेका युवकले आवेगमा आएर किन यस्तो निर्णय लिए भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।”’’

दुई महिनाअघि जुन मन्दिरमा सँगै जिउने र मर्ने उनीहरूले कसम खाएका थिए, त्यो कसम यति चाँडै र यति बीभत्स रूपमा पुग्ला भनेर कसैले सोचेका थिएनन् । ‘‘एउटा सानो विवाद र इगोले  दुई परिवारको खुसी सदाका लागि खोसेर लगेको छ”–दाजु सुधीरले भावविह्वल हुँदै भने ।