सेवामा स्तरोन्नति र नवीन प्रविधि अपनाउने रणनीतिअनुसार एनसेलले कोशी प्रदेशका विभिन्न स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । फोरजी नेटवर्कलाई अझ सशक्त बनाउँदै भविष्यको फाइभजीका लागि आधार तयार गर्ने उद्देश्यसहित कम्पनीले थ्रीजीबाट ‘भोइस ओभर लङ टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिमा रूपान्तरण गर्न लागेको हो ।
देशभर फोरजी नेटवर्क विस्तार भइरहेका बेला थ्रीजी सेवा बन्द हुनुले ग्राहकहरूलाई अझ गुणस्तरीय भ्वाइस र डेटा सेवा उपलब्ध गराउने एनसेलको विश्वास छ । थ्रीजीमा आधारित भ्वाइस सेवाहरू अब फोरजी नेटवर्कमा आधारित भोल्टेमार्फत प्रदान गरिनेछ ।
एनसेलले गत वर्ष घोषणा गरिएअनुसार चरणबद्ध रूपमा देशभर थ्रीजी सेवा बन्द गर्ने योजना कार्यान्वयनमा ल्याएको जनाएको छ । सोही क्रममा माघ २२ गतेदेखि कोशी प्रदेशका झापा, धनकुटा र तेह्रथुम जिल्लाका केही स्थानीय तहमा थ्रीजी सेवा बन्द गरिँदैछ । यी क्षेत्रमा रहेका ग्राहकहरूलाई भोल्टे सेवा सक्रिय गर्न कम्पनीले आग्रह गरेको छ ।
भोल्टे प्रविधिमार्फत उच्च गुणस्तरको भ्वाइस कल सेवा उपलब्ध हुने र फोन सम्पर्क छिटो स्थापित हुने कम्पनीको भनाइ छ । ग्राहकहरूले उही शुल्कमा गुणस्तरीय भ्वाइस कल तथा फोरजी डेटा प्रयोग गर्न सक्नेछन् । भोल्टे सेवा *१२३*११# डायल गरी सक्रिय गर्न सकिन्छ । सेवा सक्रिय भएपछि मोबाइल फोनको सेटिङमा भोल्टे विकल्प अन गर्नुपर्ने हुन्छ ।
एनसेलले आफ्नो फोरजी नेटवर्कमार्फत देशभर भोल्टे सेवा सञ्चालनमा ल्याइसकेको छ । भोल्टे सेवा प्रयोग गर्न फोरजी समर्थित मोबाइल फोन, फोरजी सीम वा इ–सिम तथा फोरजी नेटवर्क उपलब्ध क्षेत्र आवश्यक पर्नेछ । भोल्टे सेवा उपलब्ध मोबाइल फोनका ब्रान्ड र मोडल तथा सेवा सक्रिय गर्ने प्रक्रियाबारे जानकारी एनसेलको वेबसाइट र एनसेल एपमार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
हाल एनसेलको फोरजी कभरेज देशको झन्डै ९५ प्रतिशत जनसंख्यामा पुगिसकेको छ, जसअनुसार भोल्टे सेवा पनि व्यापक रूपमा उपलब्ध रहेको कम्पनीको दाबी छ ।
































