काठमाडौँ । कुरियर कम्पनीमार्फत विदेशमा सामान पठाउँदा सेवाग्राहीसँग घुस तथा रिसवत माग गरेको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय र हुलाक सेवा विभागमा कार्यरत तीन कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अर्थ मन्त्रालय, भन्सार विभागअन्तर्गत त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत हुलाक सेवा विभाग, गोश्वरा हुलाक कार्यालयको पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई सोमबार घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।
घुस/रिसवत माग गरिएको भन्ने सूचना तथा उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले गोश्वरा हुलाक कार्यालय, डिल्लीबजारबाट मिति २०८२ माघ १८ गते उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् ।
अनुसन्धानका क्रममा कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट घुस÷रिसवत बापत लिइसकेको रकम १० हजार रुपैयाँ, स्रोत नखुलेको रकम ४० हजार ३५० रुपैयाँ र निजको साथबाट स्रोत नखुलेको ९६ हजार ७० रुपैयाँ बरामद गरिएको आयोगले बताएको छ । यसरी पुडासैनीको साथबाट जम्मा १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको छ ।
त्यस्तै गोश्वरा हुलाक कार्यालयको पार्सल शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजालको साथबाट घुस÷रिसवत बापत लिइसकेको २० हजार रुपैयाँ र स्रोत नखुलेको १८ हजार ८४८ रुपैयाँ गरी जम्मा ३८ हजार ८४८ रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अन्य स्रोत नखुलेको रकमसमेत गरी जम्मा २ लाख ६८ हजार २८८ रुपैयाँ तथा विभिन्न व्यक्तिसँग सम्बन्धित मोबाइल सेट २३ थानसमेत नियन्त्रणमा लिइएको आयोगले जानकारी दिएको छ ।






























