धरान । सुनसरीको इटहरी उपमहानगरपालिका–१९ मौलियामा खुकुरी देखाई गाउँमा आतङ्क मच्चाएको भन्दै प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार १८ वर्षीय अविनाश चौधरीलाई प्रहरीले आइतबार साँझतिर पक्राउ गरेको हो । प्रहरी बिट भवानीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई एक थान खुकुरीसहित पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट शून्य दशमलव ४३ ग्राम ब्राउनसुगरसमेत बरामद गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ता चोकबाट विभिन्न नामका एक सय ५० ट्याब्लेट लागूऔषधसहित आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही नगरपालिका–११ का २६ वर्षीय सविन राई रहेका छन् । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले बा.९५ प ६२९१ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट लागूऔषध बरामद गरेको हो ।
































