निर्वाचन आयोगको कार्यतालिकाअनुसार मङ्गलबार देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा राजनीतिक दलका उम्मेदवारहरुले उत्साहपूर्ण मनोनयन दर्ता गरेका छन् । लोकतान्त्रिक प्रक्रियाको यो महत्वपूर्ण चरणमा राजनीतिक दलहरुको उत्साहपूर्ण सहभागिता देखिनु स्वभाविक मात्र होइन, स्वागतयोग्य पनि हो । भदौ २३ र २४ को जेन जी आन्दोलनपछि विघटित प्रतिनिधि सभा निर्वाचनको प्रतीक्षामा रहेको मुलुकका लागि फागुन २१ मा हुने निर्वाचन लोकतन्त्रको निरन्तरता र जनमतको सम्मानका दृष्टिले अत्यन्तै अर्थपूर्ण छ । मनोनयन दर्ताका क्रममा देखिएको सक्रियता र चासोले राजनीतिक दलहरु निर्वाचनमा सहभागी हुन तयार रहेको स्पष्ट सङ्केत दिएको छ । यसले आम मतदातामा पनि सकारात्मक सन्देश प्रवाह गरेको छ । जनताको मतमार्फत् नेतृत्व चयन हुने प्रक्रिया पुनः सशक्त बन्दैछ । तर, यही उत्साहसँगै दल र उम्मेदवारहरुका काँधमा थप जिम्मेवारी पनि आएको कुरालाई कसैले बिर्सनु हुँदैन ।
निर्वाचन आयोगले मनोनयन दर्ताका बेला बाजागाजा, भीडभाड र तडकभडक नगर्न दिएको निर्देशन केवल औपचारिक बन्न पुगेको छ। झापा–५ मा रास्वपाका नेता बालेन्द्र साह र नेकपा (एमाले) अध्यक्ष केपी ओलीका कार्यकर्ताबीचको शक्ति प्रदर्शन र वादविवादले भने सकारात्मक सन्देश दिँदैन । यो निर्वाचनलाई शान्त, मर्यादित र कानूनसम्मत ढङ्गले सम्पन्न गराउने राजनीतिक दलहरुको जिम्मेवारी हो । तडकभडक गरी कार्यकर्ताहरु भड्काउने हिसाबको प्रस्तुति शोभनीय मान्न सकिँदैन । निर्वाचन आचार–संहिता उल्लङ्घन भए लोकतन्त्रको मर्ममाथि नै आघात पुग्ने खतरा रहन्छ । त्यसैले उत्साहलाई अनुशासन र मर्यादाले निर्देशित गर्नु आजको मुख्य आवश्यकतालाई भुल्नु हुँदैन । राजनीतिक दलहरु लोकतन्त्रका मेरूदण्ड हुन् । उनीहरुको व्यवहार, भाषाशैली र गतिविधिले नै निर्वाचनको स्तर निर्धारण गर्छ । प्रतिस्पर्धा स्वभाविक भए पनि प्रतिस्पर्धा सभ्य, शान्त र जनउत्तरदायी हुनुपर्दछ । मतदाता लोभ्याउने तडकभडक होइन, स्पष्ट दृष्टिकोण, व्यावहारिक नीति र जनताको समस्याप्रति संवेदनशील प्रतिबद्धताले नै लोकतन्त्रलाई बलियो बनाउँछ । यी कुरालाई बालेन्द्र र ओली नेतृत्वले बुझ्न जरूरी छ ।
फागुन २१ मा सम्पन्न हुने निर्वाचन केवल सत्ता प्राप्तिको माध्यम मात्र होइन, यो दलहरुको परिपक्वता र लोकतान्त्रिक संस्कारको परीक्षा पनि हो । हिजो मनोनयन दर्तामा देखिएको उत्साह यदि आचार–संहिता पालन, सहिष्णुता र जिम्मेवारीसँग जोडिन सक्यो भने निर्वाचन शान्तिपूर्ण र विश्वासयोग्य रुपमा सम्पन्न हुने आधार तयार हुनेछ । अन्ततः निर्वाचन जनताको हो । दल र उम्मेदवारहरु यसको माध्यम मात्र हुन् । जनविश्वास जोगाउने र लोकतन्त्रलाई सबल बनाउने दायित्व सबै राजनीतिक शक्तिको साझा हो । यही दायित्वबोधका साथ अघि बढ्न सके मात्र यो निर्वाचन साँचो अर्थमा लोकतन्त्रको उत्सव बन्नेछ । सबै राजनीतिक दलहरुले यो फागुन–२१ को निर्वाचनलाई राष्ट्रिय उत्सवका रुपमा ग्रहण गरी भव्यरुपमा सम्पन्न गर्नु नै मुलुक र मुलुकवासीका लागि हितकर हुनेछ ।
































