यही आउँदो फागुन २१ मा चुनावको मिति तोकेको छ । निर्वाचन आयोगले आज (मङ्गलबार) उम्मेदवारी मनोनयन दर्ताको समयसीमा दिएको छ । राजनीतिक दलहरु निर्वाचनमा होमिएका छन् । तर रमाइलो कुरा चाहिँ यो पटकका राजनीतिक दलहरुको मुद्दा के हो ? जनतामाझ कुन अनुहार लिएर जाँदैछन् ? भन्ने कुरा अन्यौल छ । खालि प्रधानमन्त्री यो वा त्योका नाममा राजनीति भइरहेको छ । यो हाम्रा लागि निकै खतरनाक हो । अहिले आम नेपाली तथा जानकारहरुले सामाजिक सञ्जालहरुबाट धारणाहरु निर्माण गरिरहेका छन् ।
सामाजिक सञ्जालहरुमा आएका विभिन्न विचारहरुका आधारमा धारणा निर्माण हुनु एकदमै दुःखद् कुरा हो । यो समाजका लागि स्वस्थकर होइन । यसै पनि राजनीतिक दलहरु भागबण्डामा मस्त छन् । उनीहरु सत्ता र शक्ति सङ्घर्षमा जुटेका छन् । यहीबेला मतदाता चनाखो नहुने हो भने फेरि पछुताउनुपर्ने अवस्था सिर्जना हुन्छ । यसका लागि मतदाताहरु एकदमै सचेत बन्ने बेला आएको छ । कतिपयले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको आवाजहरु उठाइरहेका छन् । कतिपयले अहिलेको संसदीय व्यवस्थामाथि पनि प्रश्न उठाइरहेका छन् तर ती विषयलाई जति सजिलो गरी उठान गरिएको छ त्यसरी बैठान हुन्छ ? संवैधानिक व्यवस्था के हो ? त्यहाँ के के व्यवस्थाहरु गरिएका छन् ? भन्ने विषयमा कसैले कसैलाई बुझाउने कोशिस गरिरहेका छैनन् । यो हाम्रा लागि खतराको घण्टी हो । यस विषयमा न त राजनीतिक दलहरुले बुझाइरहेका छन्, न त आम नागरिक आफैले बुझ्न चाहिरहेका छन् । अहिलेको मूल समस्या नै यहाँ आएर अड्किएको छ ।
अहिले राजनीतिमा लोकप्रियवाद फस्टाएको छ । यसको व्यापारले हाम्रो मगजलाई धूलिसात बनाएको छ । लोकप्रियवादका आधारमा जित्ने र हार्ने किटान गरिँदै छ । यो समाज कतातिर जाँदै छ । हामी कतातिर जाँदै छौँ ? भन्ने विषयमा मन्थन हुन आवश्यक छ । जेन जीले उठाएका भ्रष्टाचार, सुशासनको मुद्दामा कसैको ध्यान गएको छैन । प्रधानमन्त्री को बन्ने र कसले शक्ति सञ्चय गर्ने होडबाजीमा छन् । हाम्रो राजनीतिको भविष्यलाई ब्ल्याक होलतर्फ लाने प्रयास गरिँदै छ । यसतर्फ सबै नागरिक सचेत हुनुपर्छ । यसै पनि नेपाल भूराजनीति समस्याबाट जकडिँदै आएको छ ।
अहिले नेपाली मतदाताले बुझ्नु पर्ने कुरा चाहिँ मैले कसलाई किन, कुन प्रयोजनका लागि भोट दिँदै छु भनेर आफैलाई सोध्नुपर्नेछ । मतदाताहरु एउटा सङ्गीन मोडमा उभिएका छौँ भनेर सोच्नुपर्छ । निर्वाचनमा उम्मेदवार बनेर आएकाहरुको एजेन्डा के हुन् ? विकासको मोडालिटी के हो ? रणनीति के हो ? आदि आदि विषयमा गम्भीर प्रश्न गर्ने बेला आएको छ । अब प्रश्न गर्न डराउनु हुँदैन । प्रश्नबाट जो भाग्छन् तिनीहरुले कहिल्यै जनताको हितमा काम गर्दैनन् भन्ने सोचेर पनि मत दिने वातावरण तयार गर्नुपर्छ । हरेक सचेत मतदाताले सचेतताका साथ अगाडि नबढ्ने हो भने फेरि पनि हामी पाँच वर्ष पछाडि धकेलिनेछौँ र आफैले आफैलाई धिक्कार्नेछौँ । त्यो अवसरबाट किन बञ्चित हुने ? यसकारण प्रश्न अहिलेको मूल मुद्दा हो । लोकरिझ्याइँले देश हाँकिदैन भन्ने प्रमाणहरु हामीले देखिसकेका छौँ । उखान टुक्काले पनि देश चल्दैन र चलाउन सक्दैन भन्ने पनि देखिसकेका छौँ । यसकारण उम्मेदवारमाथि तपाईंले सोध्नुस्–तपाईंहरुको मुद्दा के हो ?






























