कोशी प्रदेशकै ठूलो मानिएको सरकारी स्वास्थ्य संस्था कोशी अस्पताल यतिबेला आफ्नो सेवाका कारण होइन, बरु व्यवस्थापकीय लाचारी र चरम् लापरबाहीका कारण चर्चामा छ । अस्पतालको १८ बेड क्षमताको आइसियु (सघन उपचार कक्ष) विगत चार दिनदेखि ठप्प हुनु र गम्भीर बिरामीहरुलाई उपचारको साटो अन्यत्र जान बाध्य पार्नुले सरकारी स्वास्थ्य सेवाको कुरुप तस्बिर मात्र देखाएको छैन, नागरिकको बाँच्न पाउने संवैधानिक हकमाथि नै प्रहार गरेको छ । अक्सिजन पाइपमा आएको सामान्य प्राविधिक समस्या देखाएर १८ वटा बेड र महँगा उपकरणहरुलाई तन्नाले छोपेर थन्क्याउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित मान्न सकिँदैन । ३० पुसदेखि सेवा बन्द हुँदा त्यहाँ उपचाररत बिरामीलाई ‘एचडियु’ (हाइ डिपेन्सी युनिट) मा सारिएको त छ तर आइसियुको जस्तो सघन उपचार एचडियुमा सम्भव छैन । यसले गर्दा आर्थिक रुपमा कमजोर बिरामीहरु महँगो शुल्क तिरेर निजी अस्पताल जान विवश छन् । दैनिक १ हजार २ सय रूपैयाँमा पाइने सेवाको विकल्पमा १० हजार रूपैयाँसम्म तिर्नु पर्ने बाध्यताले अस्पताल प्रशासनको संवेदनहीनतालाई उदाङ्गो पारेको छ ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा आएका प्राविधिक समस्याहरुलाई ‘युद्धस्तर’ मा समाधान गरिनुपर्ने हो । तर सामान्य अक्सिजन पाइप मर्मत गर्न चार–चार दिनसम्म समय लाग्नु र काममा आलटाल हुनुले गम्भीर प्रश्नहरु उब्जाएको छ । के यो केवल प्राविधिक समस्या मात्र हो कि बिरामीलाई निजी मेडिकल कलेजहरुमा धकेल्ने कुनै अदृश्य खेल ? नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामनारायण चौधरीले कार्यभार सम्हाले लगत्तै सेवा अवरूद्ध हुनु र भित्रैबाट ‘असहयोग’ भएको कुरा बाहिर आउनुले अस्पतालभित्रको फोहोरी राजनीति र स्वार्थ समूहको चलखेललाई पुष्टि गर्छ । संस्था प्रमुखलाई असफल बनाउने नाममा बिरामीको ज्यान जोखिममा राख्नु अक्षम्य अपराध हो । यदि कर्मचारी र स्वास्थ्यकर्मीहरुको आन्तरिक टकरावका कारण आइसियु बन्द गरिएको हो भने त्यस्ता तत्वहरुमाथि तत्काल छानबिन र कारबाही हुनुपर्छ । अस्पताल कुनै राजनीतिक क्रिडास्थल वा कसैको इगो तुष्टि गर्ने ठाउँ होइन; यो त सेवाको मन्दिर हुनुपर्ने हो ।

दैनिक ८ सयदेखि १ हजार बिरामी आउने अस्पतालमा १०–१५ जना गम्भीर बिरामी सधैँ आकस्मिक कक्षमा आइसियुको प्रतीक्षामा छट्पटाइरहेका हुन्छन् । यस्तो अवस्थामा भएको सेवा पनि बन्द गरेर बसेको प्रशासनले ‘चाँडै मर्मत हुन्छ’ भन्दै दिएको रेडिमेड जवाफले बिरामीको पीडा कम गर्दैन । अबको आवश्यकता भनेको तत्काल प्राविधिक टोली परिचालन गरी २४ घण्टाभित्र आइसियु सेवा सञ्चालन गर्नु हो । साथै, प्रदेश सरकार र सम्बन्धित निकायले यस घटनाको गम्भीर अनुगमन गरी दोषी देखिएका जो–कोहीलाई पनि जवाफदेही बनाउनुपर्छ । सरकारी अस्पतालप्रतिको आम जनताको भरोसा टुट्नु भनेको राज्य प्रणालीप्रति नै अविश्वास पैदा हुनु हो । कोशी अस्पतालको यो ‘भेन्टिलेटर’ मा पुगेको व्यवस्थापनलाई सुधार्न अब ढिला गर्नु हुँदैन ।