धरान । काठमाडौँको नगर प्रमुख बालेन्द्र साह (बालेन) ले आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि राजीनामा बुझाएका छन् । स्वतन्त्रबाट उम्मेदवार बनी निर्वाचित बालेनले करिब चार वर्ष काठमाडौँको नगर प्रमुख बनेका छन् । 

यता धरानमा पनि राजीनामा दिने भनिए पनि यो समाचार तयार पार्दासम्म राजीनामा बुझाएका छैनन् । उपप्रमुख अइन्द्रविक्रम बेघालाई राजीनामा बुझाउने भनेर दुई पटक फोन गरे पनि निर्धारित समयमा उनी उपस्थित भएका थिएनन् । 

“खै अहिलेसम्म आउनु भएको छैन, बीचमा फोन चाहिँ आएको थियो” उपप्रमुख बेघाले भने । पछिल्लो समय श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका नगर प्रमुख हर्कराज राई (साम्पाङ) चुनावी अभियानमा हिँडिरहेका छन् । सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा समेत गरिसकेका छन् ।

चुनावमा भिडन्त गर्नका लागि बहाल रहेको पद परित्याग गर्नुपर्ने कानूनी प्रावधान छ । सोही प्रावधानअनुसार माघ ४ अर्थात् आजकै दिन बहालमा रहेको पदबाट राजीनामा बुझाउनुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार स्थानीय सरकारका प्रमुखले उपप्रमुखलाई राजीनामा बुझाउनु पर्ने हुन्छ । 

राजीनामा बुझाउने भनेकै कारण लामो समयदेखि कुरेर बसेको उपप्रमुख बेघाले जानकारी दिए । यता उपप्रमुखको कार्यकक्षमा सञ्चारकर्मीहरूको भीड लागेको छ । तर, उनले भनेको समयसम्म प्रमुख उपस्थित भएका थिएनन् । राजीनामा दिने या नदिने भन्नेमा नै अन्यौलता रहेको देखिएको छ ।