विराटनगर । प्रहरीले मोरङ ग्रामथान गाउँपालिका–४ बाट कौडासहित चार जना जुवाडे पक्राउ गरेको छ ।

मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–९ का ५७ वर्षीय जयकिशोर साह, भोजपुर हतुवागढी गाउँपालिका–३ सिन्द्राङ घर भई धरान बस्दै आएका ५६ वर्षीय हेमन्त राई, कटहरी गाउँपालिका–१ का ४२ वर्षीय सोनलाल राजवंशी र मोरङ सुन्दरहरैँचा नगरपालिका–५ का ४७ वर्षीय इन्द्र आचार्य छन् ।

जुरिखोलाछेउ बाँसझ्याङमा जुवाको खाल बनाएर बसिरहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले शुक्रबार साँझ पक्राउ गरेको हो ।

मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीका अनुसार जुवाको खालबाट तीन लाख १३ हजार नगद र तास तथा १६ थान कौडा बरामद भएको छ । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी बेलबारीले हिरासतमा राखेर अनुसन्धान थालेको छ । यस क्षेत्रमा यसअघि पनि जुवाको अखडा हुने गरेको बताइएको छ । जुवाको अखडा चलाउनेहरूले एकान्त ठाउँमा जुवा खेल्नको लागि अस्थायीरूपमा संरचना नै बनाएको पाइएको छ । यसअघि प्रहरीले छापा मारेर जुवाको अखडा भत्काएको थियो  । अहिले फेरि यस क्षेत्रमा जुवा सञ्चालन भएको हो ।