विराटनगर । विराटनगर–११ पिचराका जीवन कुमार बस्नेत र उनकी पत्नी कमलाको दैनिकी साँझ ७ बजे पसल बन्द गर्ने र बिहान ५ बजे खोल्ने हो । विराटनगर–९ सनसारीमाईस्थानमा उनीहरूले सञ्चालन गरेको ‘राधाकृष्ण डेरी तथा किराना पसल’ नै उनीहरूको रोजीरोटीको मुख्य आधार हो । तर, सोमबार बिहान ५ बजे पसल पुग्दा उनीहरू छाँगाबाट खसेझैँ भए । पसलको सटर भत्किएको थियो भने बलिया भनिएका दुईवटा तालाहरू टुक्रा–टुक्रा पारिएका थिए ।

“मैले त सुरुमा श्रीमानलाई ताला लगाउन बिर्सिनुभयो कि भनेर सोधेँ, तर हेर्दा त ताला फुटाएर भित्रको नगद र सामान गरी २५ हजारभन्दा बढीको चोरी भइसकेको रहेछ,” कमला बस्नेतले पीडा सुनाइन् । 

यो घटना कुनै एउटा पसलमा मात्र सीमित छैन । पछिल्लो एक महिनाभित्र सनसारीमाईस्थान क्षेत्रमा मात्रै यसैगरी ताला फोडेर चारवटा चोरीका घटना भइसकेका छन् । यसअघि नजिकैको पान पसलमा पनि यसैगरी चोरी भएको थियो । श्रृंखलाबद्ध रूपमा भइरहेका यी घटनाले विराटनगरका व्यवसायीहरूमा त्रास मात्र होइन, प्रहरी प्रशासनप्रति आक्रोश पनि पैदा गरेको छ ।

स्थानीय व्यवसायी आकाश अग्रवाल भन्छन्, “दिनैपिच्छे चोरी भइरहेको छ । हामी यहाँ सुरक्षित महसुस गर्नै सकिरहेका छैनौँ । प्रहरी प्रशासनले सुरक्षा दिन सक्दैन भने हामी व्यवसायी आफैँ हतियार बोकेर सुरक्षा गर्न बाध्य हुनेछौँ ।” यहाँका स्थानीयले यस स्थानमा सिसिटिभी राख्नुपर्ने माग राखेका छन् ।

‘यसअघि यहाँ सिसिटिभी राखिएको थियो । त्यसबेला यसरी चोरी हुने गरेको थिएन । जेनजी आन्दोलपछि सिसि टिभी तोडफोड भएपछि चोरीको घटना हुन थालेको छ,’ स्थानीय शान्ता श्रेष्ठले भनिन, ‘स्थानीय पालिका र सुरक्षा निकायले सनसारीमाइस्थान क्षेत्रमा सिसिटिभी राखेर सुरक्षा निगरानी बढाए चोरीको घटनामा कमी हुने थियो ।’

साढे ३ वर्षमा ९५८ मुद्दा, हजार बढी पक्राउ

कोशी प्रदेशको राजधानी रहेको शहर विराटनगरसहित मोरङमा चोरीका घटना बढ्दो छ । पछिल्लो तीन वर्ष ६  महिनाको अवधिमा मोरङ प्रहरीले जिल्ला अदालतमा ९ सय ५८ वटा चोरीका मुद्दा दर्ता गरेको छ । जसमा १ हजार २१ जना पक्राउ परेका छन् । जिल्लामा औसतमा हरेक महिना करिब २३ वटा चोरीका  मुद्दा दर्ता हुने गरेका छन् ।

मोरङ प्रहरीले दिएको जानकारी अनुसार मोरङमा आर्थिक वर्ष २०७९/०८०  २४६ मुद्दा दर्ता भएकोमा ३३७ जना पक्राउ र  ७ फरार रहेका छन् । त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा  २८६ मुद्दा दर्ता भएकोमा २७६ जना पक्राउ र  ११ फरार छन् । त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा  २१४ मुद्दामा २६७ जना पक्राउ र  ६ फरार छन् । 

चालु आर्थिक वर्षको पुस २६ सम्म सम्ममा  ११२ मुद्दा दर्ता भएकोमा १४१ जना पक्राउ र ५ जना फरार छन् । 

चोरीको यो तथ्याङ्कले के देखाउँछ भने प्रहरीले पक्राउ गर्ने र मुद्दा चलाउने प्रक्रिया जारी राखे पनि चोरीको दरमा भने कुनै कमी आएको छैन । केही समयअघि मात्रै विराटनगरको रंगेली रोडस्थित सरिता श्रेष्ठको औषधि पसलमा पनि यसैगरी चोरी भएको थियो ।

असुरक्षित व्यवसायी

सनसारीमाईस्थान क्षेत्रका व्यवसायीहरूका अनुसार मुख्य व्यापारिक केन्द्रमै प्रहरीको गस्ती र निगरानी शून्यप्रायः छ । “प्रशासनले निगरानी बढाएको भए चोरहरूले यसरी निर्धक्क सटर भत्काउने र ताला फोर्ने हिम्मत गर्ने थिएनन्,” पीडित जीवन कुमार बस्नेत भने, ‘यसरी हामी साना व्यवसायीले संचालन गरेको पसलमा चोरी हुन थालेपछि परिवार पाल्न गाह्रो हुने भयो ।’’

यता मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरी भने प्रहरीले काम गरिरहेको दाबी गरे । “हामीले चोरीका घटनालाई गम्भीरतापूर्वक लिएका छौँ । संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने काम भइरहेको छ । आगामी दिनमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइनेछ,” उनले भने ।