धरान । झापा प्रहरीले एकसाथ ४३ जना लागूऔषध कारोबारी र सेवनकर्तालाई नियन्त्रणमा लिई कारबाही गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीननगर नगरपालिका ११ कालिका सिमसार क्षेत्रबाट लागूऔषध कारोबार गर्ने र प्रयोगकर्तालाई एकसाथ पक्राउ गर्न सफल भएको हो ।
शनिबार इलाका प्रहरी कार्यालय बुधबारे झापाका वरिष्ठ सइ चन्द्रकुमार राउत र सशस्त्र प्रहरी बेस क्याम्प टिमाई झापका असइ केदार श्रेष्ठको नेतृत्वमा खिटएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । टोलीले मेचीनगर नगरपालिका ७ का ३६ वर्षीइ विमल मेचे र मेचीनगर नगरपालिका ११ का २३ वर्षीय प्रविन राईलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले चार ग्राम ८१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । यस्तै २७ हजार पाँच सय रुपैयाँ नेपाली नोट बरामद गर्न सफल भएको छ ।
प्रहरीले उनीहरूसँगै मेचीनगर नगरपालिका ८ का २० वर्षीय कविस मेचे, सोही नगरपालिका ११ का २८ वर्षीइ वासु राजवंशी, ३४ वर्षीय सुरेश खड्का, बुद्धशान्ति गाउँपालिका ४ का ३५ वर्षीय कुमार गुरुङ, सोही गाउँपालिका ३ का २५ वर्षीय सन्दीप रसाइली, मेचीनगर नगरपालिका १० का ३० वर्षीय घनश्याम माझी, बुद्धशान्ति गाउँपालिका ४ का ३८ वर्षीय राजेन्द्रकुमार थापासहित ४३ जनालाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
































