विराटनगर । सांस्कृतिक मनोरञ्जनका नाममा सञ्चालित ‘गीत गजल’ रेस्टुरेन्टभित्रै किशोरीलाई बन्धक बनाएर जबर्जस्ती यौनधन्दामा लगाउने गरिएको खुलेको छ । 

विराटनगर–११ रोडशेष चोकस्थित ‘भिन्तुना गीत गजल’ बाट १६ वर्षीया एक किशोरीको उद्धार गरिएसँगै यस्तो तथ्य बाहिर आएको हो ।

जघन्य अपराधमा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले गजल सञ्चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का ३३ वर्षीय सञ्चालक पर्शुराम कामत र विराटनगर–८ का २६ वर्षीय मनिष ठाकुर रहेका छन् ।

झापा घर भएकी ती किशोरीलाई पाँच महिनाअघि आकर्षक कामको लोभ देखाएर यहाँ ल्याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । काम लगाउने बहानामा उनलाई एउटा अँध्यारो कोठामा बन्धक बनाइएको र क्रूर शारीरिक यातना दिँदै भारतीय ग्राहकसँग यौनसम्बन्ध राख्न विवश तुल्याइएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता एवम् डिएसपी कोपिला चुडालका अनुसार पीडित किशोरीले दिएको जाहेरीका आधारमा प्रहरीले छापा मारेको थियो । “सोमबार पनि ती किशोरीलाई होटलको कोठामा थुनेर राखिएको रहेछ” डिएसपी चुडालले भनिन्, “कुनै माध्यमबाट उनले प्रहरीलाई खबर पु¥याउन सफल भइन्, लगत्तै वडा र बखरी प्रहरीको टोली पुगेर दिउँसो ३ बजे उनको उद्धार गर्यौं ।”

पक्राउ परेका दुवै जनालाई ‘मानव बेचबिखन तथा ओसार–पसार’ र ‘शरीर बन्धक’ कसूर अन्तर्गत जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । विराटनगरका अन्य गजल र खाजा घरहरूमा पनि यस्ता अवैध गतिविधि र किशोरीहरूको शोषण भइरहेको हुनसक्ने आशङ्कामा प्रहरीले निगरानी बढाएको छ ।