धरान । नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत सामाजिक सञ्जाल दुरुपयोग गर्ने ५ सय ९९ जना प्रहरी विभागीय कारबाहीमा परेका छन् ।
गैरव्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने डिआइजीसहित ५ सय ९९ जना प्रहरी कर्मचारीहरूलाई कारबाही गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटकलगायतका विभिन्न सामाजिक सञ्जालहरूमा सङ्गठनविरुद्ध अमर्यादित टिप्पणी गर्ने तथा प्रहरी पोसाकको दुरुपयोग गर्ने डिआइजीदेखि कार्यालय सहयोगीसम्मलाई विभागीय कारबाही गरिएको हो ।
आइजिपीको सचिवालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार कारबाहीमा पर्नेहरूमा डिआइजी १ जना, एसएसपी १ जना, एसपी ४ जना, डिएसपी ५ जना, इन्स्पेक्टर २४ जना, सइ ११ जना, वरिष्ठ सइ २४ जना, असइ ५१ जना, प्रहरी वरिष्ठ हवल्दार ७ जना, प्रहरी हवल्दार ३५ जना, सहायक हवल्दार ७६ जना, प्रहरी जवान ३ सय ५८ जना र प्रहरी कार्यालय सहयोगी २ जना रहेका छन् । उनीहरूलाई सङ्गठनको नीति विपरीत कार्य गरेकोमा सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्कासम्मको कारबाही गरिएको प्रहरी प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले जानकारी दिए ।
नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन २०७१ पुुस ११ मा परिपत्र गरी सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्नेसम्बन्धी आन्तरिक आचार–संहिता लागू गरेको थियो । यस्तै प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचार–संहितासम्बन्धी कार्यादेश २०७७ एवम् प्रहरी प्रधान कार्यालयबाट विभिन्न मितिमा गरिएका परिपत्रहरू विपरीत उनीहरूले गतिविधि गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
“प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालमा गैरव्यावसायिक र अमर्यादित आचरण प्रदर्शन हुनेगरी हातहतियार, पोसाक, सवारी साधनलगायत प्रहरी गतिविधिका भिडियो र फोटो अपलोड गर्न, टिकाटिप्पणी गर्न बन्देज गरिएको छ” डिआइजी काफ्लेले भने, “यसैगरी सामाजिक सञ्जालको प्रयोग गर्दा प्रहरी कर्मचारीहरूले गोपनीयता, शान्ति सुरक्षा, धार्मिक तथा साम्प्रदायिक गतिविधिलगायतमा खलल पुग्नेजस्ता कुनै पनि सामग्री पोष्ट, शेयर, लाइक या टिप्पणी गर्न हुँदैन ।”
पछिल्लो समय नेपाल प्रहरीको सामाजिक सञ्जालको प्रयोग सम्बन्धी नीति विपरीतका सामग्री हटाउन र कारबाहीको दायरामा ल्याउने कार्यलाई नेपाल प्रहरीले तीव्र बनाएको कार्यालयले जनाएको छ । प्रहरी सङ्गठनको मर्यादा र व्यावसायिक छवि जोगाउन यस्ता कारबाही अपरिहार्य भएको जनाइएको छ ।
































