विराटनगर । विराटनगरस्थित पञ्चबुद्ध ढुवानी सेवाले नक्कली बिलविजक खडा गरी तस्करीका सामान गन्तव्यसम्म पुर्याउने गरेको पाइएको छ ।

भारतबाट अवैधरूपमा भित्र्याइएका सामग्रीलाई वैधानिक रूप दिन नक्कली कागजात बनाएर ढुवानी गर्ने गरिएको खुलासा सशस्त्र प्रहरीको पछिल्लो कारबाहीबाट भएको हो । सोमबार विराटनगर–५ स्थित बिजुली अफिस नजिकैबाट तस्करीको ठूलो परिमाणको खाद्यपूरक सामग्री (सप्लिमेन्ट) सहितको ट्रक नियन्त्रणमा लिएपछि पञ्चबुद्ध ढुवानीको अवैध धन्दा सार्वजनिक भएको हो । सशस्त्र प्रहरी बल मोरङका अनुसार प्रदेश १–०२–००१ ख ९७४२ नम्बरको ट्रकमा लोड गरिएको साढे ५ लाख रुपैयाँभन्दा बढीको भन्सार छलीको सामग्री बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजेश घिमिरेले लामो समयको निगरानी र विशेष सूचनाका आधारमा यो गिरोहलाई पक्राउ गर्न सफल भएको बताए । “क्यारिङमार्फत् अवैधरूपमा ल्याइएका सामान ढुवानी सेवामा थुपार्ने र त्यहाँबाट नक्कली बिल बनाएर गन्तव्यसम्म पुर्याउने गरेको पाइयो” एसपी घिमिरेले भने, “पञ्चबुद्ध ढुवानीमार्फत् धरानतर्फ लैजान लागिएको अवस्थामा हामीले तस्करीको सामान बरामद गरेका हौँ ।”

प्रहरीले ५ लाख ७६ हजार रुपैयाँ बराबरको २ हजार ८ सय ८० थान खाद्यपूरक सामग्री बरामद गरेको छ । बरामद सामान र ४ लाख रुपैयाँ मूल्याङ्कन गरिएको ट्रकलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रहरीले तस्करीको सामान ओसार–पसारमा संलग्न मोरङ धनपालथान–६ का रोशनकुमार राजवंशीलाई नियन्त्रणमा लिएको छ । राजवंशीले नै पञ्चबुद्ध ढुवानी सेवामार्फत् उक्त अवैध सामग्री धरान पठाउने सेटिङ मिलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ढुवानी सेवाकै आडमा सङ्गठित रूपमा भइरहेको यो तस्करीको जालोबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

Thari 2