धरान । सन् २०१८ देखि रोकिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुँदै आएको ‘साइन्याप्स’ कार्यक्रमको तयारीमा विद्यार्थीहरू जुटेका छन् । 

‘अल नेपाल इन्टर मेडिकल कलेज मिट (साइन्याप्स)’ आउँदो माघ १६ गतेबाट धरानस्थित बीपी प्रतिष्ठानमा विद्यार्थी कल्याण समाजले गर्न लागेको हो । साइन्याप्समा मुख्यतः खेलकुद, कला र साहित्यका कार्यक्रमहरू हुने गरेको छ । बीपीमा सन् २००६ बाट साइन्याप्स गरिँदै आएको छ । 

मेडिकल कलेज क्षेत्रमा रहेकाहरूबीचको भाइचार, सम्बन्ध तथा सहकार्य गर्ने उद्देश्यका साथ प्रत्येक दुई दुई वर्षमा साइन्याप्स गरिँदै आएको विद्यार्थी कल्याण समाजका अध्यक्ष नवराजकुमार देवले मङ्गलबारको पत्रकार सम्मेलनमा बताए । 

“विद्यार्थीबीच रिलेसनसिप कायम गर्न यो कार्यक्रम हुँदै आएको छ” उनले पत्रकार सम्मेलनमा भने । साइन्याप्समा करिब २६ जना मेडिकल कलेजका विद्यार्थी, डाक्टर तथा पारामेडिक्सहरू सहभागी बन्ने कार्यक्रम संयोजक प्रज्ज्वलविक्रम खाँडले बताए । 

सन् २०१९ मा सुरु भएको कोरोना महामारीपश्चात् बीपीमा साइन्याप्स रोकिएको थियो । साइन्याप्समा खेलतर्फ फुटबल, फुटसल, बास्केटबल, एथ्लेटलगायतका प्रतियोगिता हुन्छन् भने कलातर्फ चित्रकला, हाजिरीजवाफलगायत कार्यक्रम हुने संयोजक खाँडले जनाए । 

कार्यक्रमको उद्घाटनको दिन वाकाथन कार्यक्रम गरिने भएको छ । धरान–१३ बाट सुरु भएको वाकाथनमा करिब एक हजारभन्दा बढी विद्यार्थी, डाक्टर तथा कर्मचारीहरू सहभागी हुने जनाइएको छ । यसबीचमा रक्तदान कार्यक्रम पनि गरिने भएको छ । माघ २३ गते गरिने समापनमा साङ्गीतिक साँझ कार्यक्रम गर्दै समापन गरिने जनाइएको छ । 

साइन्याप्स कार्यक्रममा अङ्कभारका आधारमा उत्कृष्ट कलेज घोषणा गरी ट्रफीलगायत प्रदान गरिने जनाइएको छ । कार्यक्रमका लागि बीपी प्रतिष्ठानले नै आर्थिक सहयोग गर्दै आइरहेको छ । यो हुन लागेको* साइन्याप्समा ७३ लाख १६ हजार ८० रुपैयाँ खर्च खर्च हुने अनुमान गरिएको समाजका अध्यक्ष देवले बताए ।

*यसअघि विगतमा हुने साइन्याप्समा भन्ने उल्लेख भएकोमा सच्याइएको छ । सम्पादक