धरान । इटहरी उपमहानगरस्थित शाखा कार्यालय रहेको एनआईसी एसिया बैङ्कभित्रै एक ऋणीले पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका छन् ।
इटहरी आइतबारेका लालबहादुर पौडेलले एनआईसी एसिया बैङ्कको इटहरीस्थित शाखा कार्यालयभित्र पेट्रोल छर्किएर सोमबार आगो लगाउन खोजेका हुन् । उनी बोतलमा पेट्रोल बोकेर बैङ्क प्रवेश गरेका थिए ।
आफ्नै शरीरमा पेट्रोल छर्किन खोजेपछि उनलाई बैङ्कका कर्मचारी र दुर्गा प्रसाईंको नागरिक बचाउ अभियानका सदस्यहरूले जोगाएका थिए । बैङ्कले बदनियतवश आफ्नो घरजग्गा लिलामी गरेर आफ्ना परिवार र आफूलाई तनाव दिएको उनको आरोप छ ।
दिउँसोतिर ‘एनआइसी बैङ्क लुटेरा हो । यसले मेरो परिवार छोराछोरी सबैलाई डुबायो । म मर्नुको विकल्प छैन’ भन्दै बोतलमा बोकेको पेट्रोल आफू तथा कर्मचारीलक्षित गरी खन्याएका थिए । उनी नजिक रहेका बैङ्कका कर्मचारी र सेवाग्राहीहरूले ‘यसो गर्नु हुँदैन’ भन्दै उनलाई रोकेका थिए ।
“तिमीहरू लुट्न आएका हौ । तिमीहरूको ग्याङ नै रहेछ । मलाई लुट्यौ, मेरो परिवारलाई पनि लुट्यौ”–पौडेलले रुँच्दै भने, “अब म बाँच्नुको के अर्थ ?”
पौडेलले इटहरीमा रहेको जग्गा इटहरीकै व्यवसायी गङ्गाराम साह (तेली) लाई धितोमा राख्न दिएको बताइएको छ । झापामा मदिरा फ्याक्ट्री सञ्चालनका लागि भनेर साहले पौडेलसँग ब्याज दिने सहमतिमा धितो मागेका थिए । साढे २ करोड रुपैयाँमा आफ्नो जग्गा धितो राखेपछि साहले ब्याज पनि नदिएको र किस्ता पनि नतिरेको पौडेलको भनाइ रहेको छ ।
जग्गा लिलामी प्रक्रियामा गएपछि आफूलाई तनाव भएको उनको भनाइ छ । बैङ्कले बोलाएपछि लालबहादुर बैङ्क पुगेको पाइएको छ । उनले दुर्गा प्रसाईंको समूहमा बैङ्कले अन्याय गरेको भन्दै केही दिनअघि निवेदन दिएको अभियानका एक सदस्यले बताए । पौडेलले आत्मदाह गर्न खोजेलगत्तै उनलाई रोक्दै अन्यायमा परेकाहरूलाई नागरिक बचाउ अभियानले बचाउने बताएका थिए ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले पौडेलले बैङ्कमा पुगेर आगो लगाउने प्रयास गरेकोे बताए । बैङ्कका शाखा प्रमुखलाई नै आगो लगाउन खोजेकाले पौडेललाई नियन्त्रणमा लिएको डिएसपी हमालले जानकारी दिए ।
“आत्मदाहभन्दा पनि बैङ्कका कर्मचारीलाई नै आगो लगाउन खोजिएको जस्तो देखियो । केही अन्य व्यक्तिहरू पनि भेला पारेको बुझियो” डिएसपी हमालले भने, “यस विषयमा अनुसन्धान भइरहेको छ ।” डिएसपी हमालका अनुसार पौडेलले एक करोड ऋण लिएर र ५–६ महिनादेखि ब्याज नतिरेको बताइएको छ । बैङ्कले ब्याजको ५ प्रतिशत रकम बुझाउन बोलाएको बताइएको छ ।
यस विषयमा बैङ्कका इटहरी शाखाका ऋण प्रमुख रमेश खड्कालाई बुझ्न फोन गर्दा पछि कुरा गर्ने भन्दै फोन राखिदिए । पछि सम्पर्क गर्दा उनको फोन स्वीचअफ थियो ।
यसअघि इटहरी शाखाबाट ऋण लिएका कलाकार विक्रमश्रिलाई पनि बैङ्कले चक्रवर्ती ब्याज लिएर आफूलाई डुबाएको गुनासोसहित उनले बैङ्कको केन्द्रीय कार्यालय र नेपाल राष्ट्र बैङ्कमै उजुरी गर्नुपरेको थियो ।
बैङ्कका तत्कालीन सिइओ रोशन न्यौपाने र ऋण प्रमुख अर्जुन खनियाले शाखाहरूलाई दबाव दिएर ऋणीलाई दुःख दिने गरेको बताइएको छ । हाल भने उनीहरू बैङ्कबाट बाहिरिएका छन् ।
































