इनरुवा । सुनसरी सुनसरीको इनरुवा नगरपालिका वडा नं. २ स्थित श्री राजाजी रामजी महतो दास माध्यमिक विद्यालयका एक शिक्षकले छात्रामाथि यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरूले सोमबार विद्यालय परिसरमा विरोध प्रदर्शन गरेका छन् ।

विद्यालयका शिक्षक सुरेश मेहताले त्यही अध्ययनरत छात्राहरूलाई विभिन्न समयमा दुव्र्यवहार गरेको आरोप लगाउँदै विद्यार्थीहरू आन्दोलित बनेका हुन् । पीडित छात्राहरूका अनुसार शिक्षक मेहताले शरीरका विभिन्न अङ्गहरू छुने, सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल गर्ने र विभिन्न प्रलोभन देखाएर यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने गरेका आरोप लगाएका छन् ।

लामोसमयदेखि यो क्रम नरोकिए पछि छात्राहरु ीमलेर सोमबार आन्दोलन गरेका हुन । प्रदर्शनकारी विद्यार्थीहरूले दोषी शिक्षकलाई तत्काल कडा कानुनी कारबाही गर्नुपर्ने, विद्यालयको शैक्षिक वातावरण मर्यादित बनाउनुपर्ने र पीडितलाई न्याय दिनुपर्ने माग राखेका छन् । आन्दोलनका कारण सोमबार विद्यालयको पठनपाठन पूर्ण रूपमा प्रभावित भएको थियो ।

विद्यालयमा प्रर्दशनसमेत भए पछि ती शिक्षक विरुद्ध सम्बन्धित छात्राका अभिभावकले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरीसमेत दिएका छन् ।

सोमबार नै शिक्षक मेहता विरुद्ध जाहेरी आएको जिल्ला प्रहरी प्रमुख एसपी केशव थेवेले जानकारी दिए । ‘उजुृरी आएको छ । घटनाबारे बुझेर कानुनी कारवाही अगाडी बढाउछौं ।’–एसपी थेवेले भने । उजुरी लगतै शिक्षक मेहतालाई पक्राउका लागि प्रहरी परिचालन गरिएको तर फेला नपरेको एसपी थेवेले जानकारी दिए ।