काठमाडौँ / एनसेलले आफ्‌नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधारतर्फ सन् २०२५ मा देशभर २५० वटा नयाँ टावर जडान गरेर सञ्चालनमा ल्याएको छ । 

एनसेलले दुई हजार २ सय टावरहरुमा क्षमता अभिवृद्धि गरेको जनाएको छ । यसका कारण ग्राहकहरूले अझ स्पष्ट सुनिने भ्वाइस सेवा र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने जनाएको छ । सातै प्रदेशका विभिन्न स्थानीय तहहरूमा नयाँ टावरहरू स्थापना गरी सञ्चालनमा ल्याइएका छन् । विशेष गरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशमा टावरहरु जडान गरिएका हुन् । 

“अहिले त घरभित्रै पनि धेरै राम्रो नेट टिप्छ । पहिला भन्दा धेरै नै राम्रो भयो,” जनकपुर उपमहानगरपालिका–१७, मनहरपुरकी अनिशा मण्डलले भनिन् । कुल २५० वटा टावरमध्ये १९७ वटा टावरहरु पछिल्लो साढे दुई महिनामा स्थापना गरिएका हुन् भने, स्टकमा रहेका तथा स्पेयर उपकरणको अधिकतम उपयोगमार्फत ५३ वटा नयाँ टावर सञ्चालनमा ल्याइएका हुन् । 

“देशभर थपिएका हाम्रा यी नयाँ टावरहरू र क्षमता अभिवृद्धि गरिएका साइटहरुले सम्बन्धित प्रदेशका स्थानीय तह र ठाउँहरूमा ग्राहकहरुलाई मोबाइल ब्रोडब्याण्ड र गुणस्तरीय भ्वाइस सेवाको पहुँच अझ व्यापक बनाएको छ । यसले फोरजी कनेक्टिभिटीको महत्वलाई अझ बढाएको छ,” एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने ।

नयाँ टावरहरूको संख्याका दृष्टिले मधेश प्रदेशमा १०० भन्दा बढी नयाँ टावरहरू स्थापना गरिएका छन्, त्यसपछि लुम्बिनीमा ४० भन्दा बढी र कोशी प्रदेशमा ३५ भन्दा बढी टावरहरू स्थापना भएका छन् । एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ २०७४ बाट फोरजी सेवा सुरु गरेको थियो । यो सेवा ७७ वटै जिल्लामा विस्तार विस्तार भईसकेको छ र कुल जनसंख्याको ९५ प्रतिशत भन्दा बढि जनतामाझ यो सेवा पुगेको छ ।