विराटनगर । ओखलढुङ्गाको विकट बस्तीका असहाय र वृद्धवृद्धालाई निसाना बनाउँदै शृङ्खलाबद्धरूपमा भइरहेका हत्या घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो तीन महिनादेखि शृङ्खलाबद्ध तीनजनाको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । लुटपाट गर्ने उद्देश्यले तीन जनाको ज्यान लिने एकै समूहका चार सदस्य रहेको ओखलढुङ्गा प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा चिसङ्खुगढी गाउँपालिका–३ दियालेका २४ वर्षीय मिलन भन्ने सङ्गम राई, सोही गाउँपालिका वडा नं. ४ रातमाटेका ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नं. ८ माम्खाका ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका छन् ।
यो समूहले पुस १५ गते चिसङ्खुगढी गाउँपालिका–६ भदौरे गैरीगाउँमा किराना पसल चलाएर बस्ने ६० वर्षीय सोवितमान थापा मगर र उनकी पत्नी ६० वर्षीया रत्नमाया थापा मगरलाई निशाना बनाएको थियो । कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार पुस १५ गते बिहान ८ बजेतिर यो समूहले दम्पतीको हत्या गरेका थिए । “सुरुमा रत्नमाया र त्यसपछि सोवितमानलाई कृषि कार्यमा प्रयोग हुने कोदालो र अन्य धारिलो हतियारले दाहिने कञ्चट र कानको भागमा प्रहार गरी बीभत्स हत्या गरेको पाइयो” एसएसपी पोखरेलले भने, “हत्यापछि उनीहरूले शवलाई गोठमा लगेर स्याउलाले छोपेका थिए ।”
हत्यापछि उनीहरूले घर र पसलबाट करिब एक लाख रुपैयाँ नगद, दुई तोला सुनका गहना र ६ तोला काँचो सुन लुटेर फरार भएको प्रहरीले जनाएको छ । अनुसन्धानमा खुलेअनुसार वृद्ध दम्पतीमाथि सुरुमा कोदालो प्रहार गर्ने व्यक्ति विनोद राई थिए । वृद्ध दम्पती हत्याबारे अनुसन्धान गर्दै जाँदा प्रहरीले तीन महिनाअघि भएको अर्को रहस्यमयी हत्याको गुत्थी पनि सुल्झाएको छ । गत असोज २६ गते राति १० बजे सिद्धिचरण नगरपालिका–४ चाम्खुमा ५२ वर्षीया एकल महिला रत्नकुमारी कटवाल (कार्की) को आफ्नै घरमा हत्या भएको अवस्थामा शव भेटिएको थियो । त्यसबेला प्रहरीले हत्याबारे अनुसन्धान गरे पनि आरोपित पक्राउ पर्न सकेका थिएनन् । तर चिसङ्खुगढीको घटनासँग यसको ‘मोडस अपरेन्डी’ (हत्या गर्ने शैली) दुरुस्तै मिलेपछि प्रहरीले सोही समूहमाथि निगरानी बढाएको थियो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख डिएसपी मदन केसी भन्छन्, “रत्नकुमारीको हत्यामा पनि बन्चरो प्रयोग गरी कञ्चट र कानकै भागमा चोट पु¥याइएको थियो । दुवै घटनाको प्रकृति र लुटपाटको शैली मिलेपछि हामीले संयुक्त अपरेसन सुरु ग¥यौँ ।” नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले पुस १७ र १८ गते विभिन्न स्थानबाट उनीहरूलाई घेरा हालेर पक्राउ गर्न सफल भयो । प्रहरीका अनुसार पक्राउ परेका चारै जना लागूऔषध प्रयोगकर्ता हुन् । लागूऔषधको तल्तल् र पैसाको लोभमा उनीहरूले समाजका सबैभन्दा कमजोर पात्रहरू (वृद्धवृद्धा र एकल महिला) लाई ‘टार्गेट’ गर्ने गरेको पाइएको छ । प्रहरीले रत्नकुमारीको हत्यापछि लुटिएको सुन पगालेर बनाइएको ५.८० ग्रामको औँठी उनीहरूको साथबाट बरामद गरेको छ ।
यस्तै हत्यामा प्रयोग भएको बन्चरो, खुकुरी, लुटिएको रिचार्ज कार्ड, दुई नाल भरुवा बन्दुक र चार थान मोबाइलसमेत फेला परेको छ । आइतबार सार्वजनिक गरिएका चारै जनालाई अदालतबाट म्याद थप गरी ‘कर्तव्य ज्यान, डाँका र हातहतियार खरखजाना’ सम्बन्धी तीनवटा गम्भीर कसूरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता अनुसार क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको ठहर भएमा उनीहरूलाई जन्मकैद (जीवित रहेसम्म जेल) को सजाय हुनसक्छ । यसका साथै डाँका र हातहतियारको कसूरमा थप कैद र जरिबानाको भागीदार उनीहरू हुनेछन् ।






























