बिर्तामोड । झापामा विद्युतीय सामग्री चोरी गरेर भण्डारण गरिएको गोदाममा प्रहरीले छापा मारेको छ । प्रहरीले छापा मारेर दुईजनालाई पक्राउ गरेको छ भने लाखौं मूल्यका सामग्री बरामद गरेको जनाएको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले अर्जुनधारा–६ का मोहम्मद उसिम मुदिलको घरमा छापा मारेको थियो । त्यसक्रममा उनको घरमा डेरा गरेर बस्दै आएका भारतको बिहारस्थित किसनगञ्जका एक युवा र एक युवती पक्राउ परेका हुन् । अर्जुनधारा–६ बिहानी टोलका मोहम्मद उसिम मुदिलको घरमा डेरा गरेर बस्दै  आएका दुईजना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले भारतको विहारस्थित किसनगञ्ज घर बताउने ३५ वर्षीया खतिजा वेगम र २३ वर्षीय मोहम्मद रज्जाकलाई सामानसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।

उनीहरू भाडामा बस्दै आएको कोठामा साइकल, मोबाइल, मोटरसाइकल, फलामको पाइप, पानी तान्ने मोटर, घाँस काट्ने मोटर लगायतका सामानहरू फेला परेको हो । प्रहरीले उनीहरूको कोठाबाट ९ वटा साइकल, फलामको पाइपको टुक्राहरू–४७ वटा, स्पोकसहितको टायर रिङ–६ थान, रिङ मात्र थान–१, फलामको रड १८ थान, साना–ठूला गरेर २५ थान मोटर, गाडी धुने पम्प १–थान, मोटरको फलामको रोटर ६–थान, ग्यास इन्डक्सन चुलो १–थान र मोटर साइकलको मडगार्ड, सक–अप र टिसहितको १–थान बरामद गरेको जनाएको छ ।

यसैगरी वेल्डिङ मेसिनको कभर १–थान, रेडी वाटरको भित्रको जाली २–थान, पेन्चिस र पिलास २–थान, एलङकि पिलास ३–थान, हेम्बर १–थान र कालो साउण्ड बक्स ४–थान बरामद भएको छ ।

यस्तै सामसङ कम्पनीको ट्याब १ थान, नक्कली जस्तो देखिने भारतीय नोट १ सय दरको ९५–थान, मोबाइल ५–थान बरामद गरेको प्रहरीले जनाएको छ । यसैगरी प्रदेश १–०१–०१५ प ९३४४ नम्बरको मोटर साइकल र त्यसको ब्लुबुकसमेत बरामद भएको छ । प्रहरीले उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडमा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ ।

झापामा पानी तान्ने मोटर चोरी हुन थालेपछि प्रहरीले त्यसमाथि निगरानी बढाएको थियो । प्रहरीले केही दिनअघि मोटर चोरेर भारततर्फ लैजाँदै गर्दा टाँघनडुब्बाबाट एकजनालाई नियन्त्रणमा लिएको थियो ।