धरान । स्रोत नखुलेको ६ लाख रुपैयाँ नगदसहित पेट्रोल पम्पका सञ्चालक पक्राउ परेका छन् । प्रहरीका अनुसार हुण्डी कारोबारमा संलग्न भएकाले पक्राउ गरिएको हो ।
विराटनगर–१५ स्थित सुनसरी ट्रेडिङ सेन्टरका सञ्चालक अरबिन्द अग्रवाललाई हुण्डीको आरोपमा नगदसहित पक्राउ गरिएको हो । उनीमाथि इन्धनको कारोबारमा पनि शङ्कास्पद रहेको आरोप लाग्दै आएको छ । अग्रवाललाई आइतबार स्रोत नखुलेको ६ लाख रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत् जनाएको छ । अवैधरूपमा रकम बोकेर भारतबाट नेपालतर्फ भित्रिएको सूचना प्रहरीले पाएपछि निगरानी बढाएको थियो ।
आरोपित अग्रवालले भारतबाट प्रदेश १–०४–००१ च.०१६४ नम्बरको सेतो कारबाट नेपाल आएका थिए । उनी रकम लिई आउँदै गरेको सूचना पाएको आधारमा असइ नवराज कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार उनलाई आफैले सञ्चालनमा ल्याएको पेट्रोलपम्प अगाडि आइपुगेका थिए । उनले विराटनगर–१५ मा पेट्रोलपम्प सञ्चालनमा ल्याएका छन् । उनी विराटनगर–६ निवासी हुन् ।
हुण्डीको रकम ओसार–पसार गरेको सूचनाको आधारमा प्रहरीले उनीमाथि निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले सीमा क्षेत्रबाट पिछा गर्दै आउँदा सुनसरी ट्रेडिङ सेन्टरअगाडि रोकिएपछि चेकजाँच गरेको थियो । उनी त्यस समयमा भाग्ने प्रयास गरेका थिए । पेट्रोल पम्पको अफिसभित्रतर्फ भाग्न खोज्दा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यसक्रममा सोधपुछ गर्दा उनले रकमको स्रोत देखाउन नसकेका कारणले पक्राउ गरिएको जिप्रका मोरङकी डिएसपी कोपिला चुडालले जानकारी दिइन् ।
उनका अनुसार पक्राउ परेका अग्रवालको साथबाट एक हजारका चार सय थान र पाँच सयका तीन सय ६० थान, एक सय दरका २ सय थान रकम बरामद भएको हो । प्रहरीले सवारीसहित उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखी अनुसन्धान गरिरहेको छ । उनी सुनसरी ट्रेडिङ सप्लायर्स लगायतका पेट्रोलपम्प चलाइरहेका छन् ।
































