धरान । सुनसरी उद्योग वाणिज्य सङ्घ धरानले शनिबार ४२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

आन्तरिक राजस्व कार्यालयका महानिर्देशक मदन दाहालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा सङ्घका अध्यक्ष गोपाल श्रेष्ठले सहभागीहरूलाई स्वागत गर्दै सङ्घको आधिकारिक धारणा सार्वजनिक गरेका छन् । 

उनले धार्मिक पर्यटकीय क्षेत्रहरूलाई प्रवद्र्धन र विकास गर्न रामधुनी–वराहक्षेत्र–विष्णुपादुका र विजयपुर सर्किटका लागि लिङ्क रोड आवश्यक भएको बताए । यस्तै धरानमा प्रदर्शनीस्थल, औद्योगिक ग्राम निर्माण, धरान–तमोर सुरुङ मार्ग निर्माण तथा धरानमा ड्राइ पोर्ट निर्माणका लागि सरकारलाई ध्यानाकर्षण गराएका छन् । 

उनले कर तथा राजस्व प्रणालीमा भएका कमी कमजोरीबारे  व्यवसायीहरूले गरेको गुनासोबारे महानिर्देशक दाहाललाई नीतिगत सुधारका लागि सुझावसमेत दिएका छन् । उनले भने, “एउटा आर्थिक वर्षमा मिसम्याच हुँदा सरकारले बिगो मानी १३ प्रतिशत भ्याट, २५ प्रतिशत आयकर र शतप्रतिशत जरिबाना शुल्क ब्याज जोडेर तिर्नु पर्दा व्यापारीले घरजग्गा, व्यवसाय धरौटी राख्नुपर्ने अवस्था आएको छ ।” उनले यस्ता अव्यावहारिक कानून संशोधनका लागि पहल गर्न महानिर्देशक दाहाललाई मञ्चबाटै अनुरोध गरेका छन् । 

यस्तै वार्षिक ३० लाखभन्दा कम कारोबार हुने करदाताका विषयमा, पारिवारिक छुटलगायतका विषयमा अध्यक्ष श्रेष्ठले विषय उठान गरेका छन् । 

कार्यक्रममा प्रमुख अतिथि दाहालले व्यवसायीहरूले उठान गरेका विषय सम्बन्धित निकायमा राख्ने बताए । कार्यक्रममा महासचिव प्रभाव खतिवडाले साङ्गठानिक प्रतिवेदन पेस गरेका थिए । हालसम्म भएका गतिविधिबारे उनले चर्चा गरे ।

 कार्यक्रममा उद्योग सङ्गठन कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, सुनसरीका निवर्तमान अध्यक्ष विजय श्रेष्ठ, नेपाली काङ्ग्रेसका नगर सभापति श्याम पोखरेललगायतले बोलेका थिए । 

ब्लाष्टका सम्पादकसहित पुराना व्यवसायी सम्मानित 

पत्रकारसहित सुनसरी उद्योग वाणिज्य सङ्घको ४२ साधारणसभाको अवसरमा दुई पत्रकारसहित धरानको आर्थिक सामाजिक, स्वास्थ्यलगायत क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तिहरूलाई सम्मानसमेत गरेको छ ।

पत्रकारिता क्षेत्रबाट पर्यटन, आर्थिक एवम् सामाजिक क्षेत्रमा योगदान दिएको भन्दै ब्लाष्टदैनिकका सम्पादक देवेन्द्र कार्कीलाई नगदसहित सम्मान गरेको छ । कार्की विगत २५ वर्षदेखि धरानलाई कार्यक्षेत्र बनाएर पत्रकारित गर्दै आएका छन् । पछिल्लो समय उनले ‘पूर्वी नेपालका धाम’ नामक नेपाली र बङ्गाली भाषामा धार्मिक पर्यटन प्रवद्र्धनका लागि पुस्तक प्रकाशनका तयारी गरिरहेका छन् ।

यस्तै आर्थिक क्षेत्रमा कलम चलाएको भन्दै राष्ट्रिय समाचार समितिकी सुनसरी संवाददाता स्वर्णिम राई (सङ्गीता) लाई नगदसहित सम्मान गरेको छ । उनी ११ वर्षदेखि धरानलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएकी छन् ।

कार्यक्रममा २०२० सालमा स्थापित सुनसरी उद्योग वाणिज्य सङ्घका तत्कालीन सल्लाहकार तथा धरान ट्रेडिङका सञ्चालक निर्मलकुमार अग्रवाल, धरानका पुराना उद्योगी सूर्य मेटलका निर्देशक रोहित ताम्राकार, पुराना मिल सञ्चालक देवीराम अग्रवाल, युवा उद्यमी घरेलु प्रविधिबाट स्थानीयस्तरमा साबुन उत्पादन गर्दै आएकी मनिता घिमिरे र स्वास्थ्य क्षेत्रमा उच्च योगदान पुर्याउँदै आएका डा. खालिद हुसेन र डा. तपन तरफदारलाई सम्मान गरिएको छ ।

साधारणसभामा पुराना व्यवसायी मानमोहन श्रेष्ठ र हिरा उदासलाई सङ्घको मानार्थ सदस्यता दिएको सङ्घका निवर्तमान अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।