धरान । बहुदरमाई नगरपालिका पर्सामा सडक मर्मत ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र पत्रिकाका प्रकाशकसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार आरोपपत्र दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बहुदरमाई नगरपालिका वडा नं. २ अन्तर्गत बैरिया पानीटङ्की प्रवेशद्वारदेखि उत्तर पिपरा हुँदै महावीर साह माध्यमिक विद्यालयसम्म जाने सडक मर्मत कार्यका लागि आ.व. २०७९/०८० मा स्वीकृत योजनाको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐनको उल्लङ्घन गरिएको पाइएको छ । अनुसन्धानका क्रममा ठेक्का आह्वानसम्बन्धी सूचना सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४० (३) बमोजिम राष्ट्रिय वा स्थानीयस्तरको पत्रिकामा प्रकाशन गर्नुपर्नेमा बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सह–लेखापाल उपेन्द्र कुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक सञ्जयकुमार साहबीच आपसी मिलेमतो गरी अनियमितता गरेको अख्तियारको दाबी छ ।

उनीहरूले गैरकानूनी लाभ लिने उद्देश्यले बोलपत्रको सूचना लुकाई छिपाई सार्वजनिकरूपमा वितरण नगरी जन प्रतिबिम्ब दैनिकको एकप्रति मात्र अभिलेखमा राख्ने गरी मिति २०८० पुस २५ गते बोलपत्र आह्वान गरिएको देखिएको आयोगले जनाएको छ । 

प्रेस काउन्सिल नेपालबाट प्राप्त कागजातअनुसार सो मितिको जन प्रतिबिम्ब दैनिकको हार्डकपी र पीडीएफ संस्करणको पहिलो पृष्ठमा बोलपत्रसम्बन्धी कुनै सूचना प्रकाशन भएको नदेखिएको अख्तियारले दाबी गरेको छ ।

सूचना प्रकाशन नै नगरी झुट्टा बिल तथा भरपाइ तयार गरी जन प्रतिबिम्ब दैनिकलाई ६५ हजार रुपैयाँ भुक्तानी गरिएको पुष्टि भएपछि उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसूर ठहर गर्दै आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । 

अख्तियारले महमद शेरे मुस्तफा र उपेन्द्रकुमार साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) (ङ) बमोजिम बिगो ६५ हजार रुपैयाँ कायम गरी कैद तथा जरिबाना सजाय मागदाबी गरेको छ । साथै, जन प्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक सञ्जयकुमार साहविरुद्ध मुख्य कसूरदारलाई सहयोग गर्ने मतियारको रूपमा सोही बिगो बराबरको सजाय मागदाबी लिइएको छ ।