धरान । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति तथा प्रशासकमाथि अज्ञात समूहद्वारा भएको हातपातका विषयलाई लिएर प्रजातान्त्रिक प्राध्यापक सङ्घ पिण्डेश्वर विद्यापीठ एकाइ समितिले आपत्ति जनाएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपाल र प्रजातान्त्रिक प्राध्यापक सङ्घका केन्द्रीय अध्यक्ष उप–प्रशासक खिमबहादुर केसी तथा उपकुलपतिका स्वकीय सचिव चोलेन्द्र रिजालमाथि पुस ६ गते आक्रमण भएको थियो ।

सङ्घले उक्त आक्रमणमा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेको छ । विश्वविद्यालयका उपकुलपतिलगायतमाथि भएको आक्रमणले शान्तिसुरक्षामाथि पनि गम्भीर प्रश्न उठाएको जनाएको छ ।

विश्वविद्यालयका प्रमुखमाथि गरिएको आक्रमणले सम्पूर्ण प्राज्ञिकजगत् नै स्तब्ध भएको सङ्घका अध्यक्ष सह–प्राध्यापक डा. महानन्द तिमल्सिनाले सोमबार विज्ञप्ति जारी गरी जनाएका छन् । उनले यस्ता गतिविधि तथा अमानवीय कार्यले सम्पूर्ण प्राज्ञिकजगत्लाई नै त्रसित बनाएको जनाएका छन् । उनले यस्ता गतिविधिमा संलग्नलाई यथाशीघ्र खोजी गरी कारबाही गर्न माग गरिएको छ ।