धनकुटा । धनकुटा नगरपालिका–७ स्थित जिरोप्वाइन्टमा मंगलबार बिहान करिब ५ः१५ बजे मालवाहक ट्रक दुर्घटना भएको छ। ना ७ ख ११६१ नम्बरको ट्रक अनियन्त्रित भई माथिल्लो सडकबाट तल्लो सडकमा उत्तानो परेको हो।
प्रहरीका अनुसार सुनसरीको इटहरीबाट चामलसहित खाद्यान्न तथा अन्य आवश्यक किराना सामान बोकेर हिलेतर्फ उकालो जाँदै गरेको उक्त ट्रकको स्ट्रिङ कटिएपछि दुर्घटना भएको चालक इन्द्र मगरले बताएका छन्।
दुर्घटनामा ट्रकका चालक इन्द्र मगर र सह–चालक क्षेत्र शेर्पा सकुशल रहेको प्रहरीले जनाएको छ। सह–चालक शेर्पाका अनुसार उक्त ट्रक छथरजोरपाटी निवासी राम शेर्पाको स्वामित्वमा रहेको थियो।
दुर्घटनाग्रस्त ट्रकमा रहेका खाद्यान्न तथा अन्य सामग्रीहरू मंगलबार नै ट्राफिक प्रहरी र स्थानीयवासीको सहयोगमा अर्को ट्रकमा सारेर गन्तव्यतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ।
































