धरान । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इहटरीले आवश्यक कागजात नभएका ५ वटा सवारी साधनहरूलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।
ट्राफिक प्रहरीले चेकजाँचको क्रममा आवश्यक कागजात नभएको साथै सवारी नम्बर, इन्जिन नम्बर र चेसिस नम्बरहरू परिवर्तन गरी कानूनविपरीत ताप्लेजुङको भित्री सडक–खण्डहरूमा सञ्चालनमा रहेका ५ वटा महेन्द्रा कम्पनीको बोलेरो जीप विभिन्न समयमा नियन्त्रणमा लिएर मङ्गलबार सार्वजनिक गरेको हो ।
कार्यालयका अनुसार को. १ ज ११११ नम्बरको सवारीसाधनमा सवारी दर्ता किताबमा उल्लेख भएको इन्जिन नम्बर एएफ ३१ एल ३२७६४ भए पनि सवारीमा जडान गरिएको इन्जिन नम्बर डीडब्ल्यू ४६०२३ भेटिएको छ । त्यसैगरी ना. २ ज ७९५५ नम्बरको सवारीसाधनमा परिवर्तन गरिएको इन्जिन नम्बर रेकर्डमा भएअनुसार नपाइएको, रङ परिवर्तनसमेत गरिएको पाइएको छ । उक्त सवारीमा जीजी ८१ एफ ४१४८४ र जीए ९४ एल ६९४८१ इन्जिन नम्बर उल्लेख भएको छ भने चेसिस नम्बर एमए१पीएसजेडजीएके९८ एम ७७६४४ रहेको छ ।
यस्तै ना. २ ज ८४८३ नम्बरको सवारीसाधन यातायात व्यवस्था कार्यालय नारायणीको अभिलेखमा नपरेको तथा सवारी दर्ता किताब सङ्कलन नभएको पाइएको छ । उक्त सवारीको इन्जिन नम्बर जीबी ९४ डी २७२७८ र चेसिस नम्बर एमए १ डब्ल्यूई २ जीबीके९२ डी ८७४१८ रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
ना. ३ च ३९२८ नम्बरको सवारीसाधन कम्पनीबाट आयात नभएको अवस्थामा इन्जिन नम्बर रि–पञ्च गरिएको भेटिएको छ । सो सवारीको इन्जिन नम्बर डीएफ १४ एल ३८५४२ र चेसिस नम्बर एमए १ बीपी ४ डीएफसी १२ एल ७४०२७ रहेको छ । त्यसैगरी ग.१ च ६६५४ नम्बरको सवारीसाधन आयातकर्ता कम्पनीले आयात नगरेको तथा यातायात व्यवस्था कार्यालय गण्डकीलाई विवरण उपलब्ध नगराएको पाइएको छ । उक्त सवारीको इन्जिन नम्बर जीएफ ७४ इ ६०८६९ र चेसिस नम्बर एमए १ एक्सबी २ जीकेए ७२ इ २६५८६ रहेको छ ।
उक्त बोलेरो जीपहरूमा भएका सवारी नम्बर, चेसिस नम्बर र इन्जिन नम्बरहरू सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूको अभिलेखमा फेला नपरेको हुँदा कानून विपरीत सञ्चालनमा रहेका ती सवारी साधनहरूलाई आवश्यक कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको कार्यालय प्रमुख एसपी दीपक गिरीले जानकारी दिए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सवारी चोरी नियन्त्रण, अवैध कारोबार रोकथाम तथा सुरक्षित सडक बनाउने उद्देश्यले नियमितरूपमा सवारीको नम्बर प्लेट, चेसिस नम्बर, इन्जिन नम्बर तथा कागजातको कडाइका साथ चेकजाँच गर्दै आएको छ ।
































