विदेशी पर्यटक भिœयाएर विदेशी मुद्रा आर्जन गर्ने उद्देश्यले अनुमति पाएका क्यासिनोहरु आफैमा गलत होइनन् । तर विराटनगरका तारे होटलभित्र सञ्चालित क्यासिनोहरु नेपाली नागरिकलाई अवैधरुपमा प्रवेश गराई जुवा खेलाउने अखडा बनेको तथ्य हालै सार्वजनिक भएको छ । कानूनविपरीत निर्वाध नेपालीलाई प्रवेश दिएर गैरकानूनी धन्दा चलाउनु किमार्थ उचित होइन । नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्ण प्रतिबन्ध हुँदाहुँदै भारतीय ‘आधार कार्ड’ बोकेर निर्वाध प्रवेश गरिनु सामान्य लापरबाही होइन । यो वर्षौंंदेखि चलेको योजनाबद्ध मिलेमतोको धन्दा हो । क्यासिनो सञ्चालक, केही कर्मचारी, बिचौलिया र सम्भवतः नियमनकारी निकायभित्रका कमजोर कडीहरुबीचको साँठगाँठले कानूनलाई कागजमै सीमित बनाएको देखिन्छ । छापाका क्रममा ‘डबल भेरिफिकेसन’ गर्दा मात्रै वास्तविकता बाहिर आउनु, यसअघिका अनुगमन कति सतही थिए भन्ने प्रश्न पनि उठेको छ ।
चिन्ताको विषय के हो भने जुवाको खालबाट पक्राउ परेकामध्ये विश्वविद्यालयका पूर्व निर्देशकदेखि होटल सञ्चालक, अभियन्ता र ठूला व्यवसायीसम्म हुनु समाजको उपल्लो तहसमेत जुवाको लतबाट अछुतो नरहेको सङ्केत हो । यसले जुवालाई ‘मनोरञ्जन’ भनेर हल्का रुपमा बुझ्ने प्रवृत्तिको खतरनाक परिणाम देखाउँछ । क्यासिनोका कारण परिवार उजाडिनु, ऋणको भार बढ्नु र सामाजिक अपराध फैलिनु कुनै अतिरञ्जना होइन—पीडित परिवारका आँसु नै यसको प्रमाण हुन् । कतिपय ठूला घरानाका परिवार विग्रहमा आउनु यसकै परिणाम मान्न सकिन्छ । प्रशासनले छापा मारेर साहसिक कदम चालेको छ, यो स्वागतयोग्य छ । तर यो अपरेसन ‘एकपटकको कारबाही’ मा सीमित रहनु हुँदैन । नक्कली वा दुरूपयोग भएका विदेशी परिचयपत्रको जालो तोड्न, क्यासिनोहरुको नियमित र कडाइका साथ अनुगमन गर्न, दोषी सञ्चालक र कर्मचारीलाई कडा सजाय दिनु पर्दछ ।
क्यासिनो सञ्चालनको मूल उद्देश्य विदेशी मुद्रा आर्जन हो, नेपालीलाई ‘कङ्गाल’ बनाउने किमार्थ होइन । कानूनको सम्मान, पारदर्शी अनुगमन र सामाजिक जिम्मेवारी विना कुनै पनि उद्योग स्वीकार्य हुँदैन । विराटनगरको धन्दा यो एउटा उदाहरण हो । काठमाडौंका क्यासिनोहरुको अवस्था झन् दयनीय छ । अब राज्यले क्यासिनो संस्कृतिलाई कानूनभित्र राख्ने दृढ इच्छाशक्ति देखाउँछ कि फेरि केही समयपछि उही ‘सेटिङ’ मौलाउन दिन्छ ? अब ती क्यासिनोमा नेपाली अनुहार भेटिन्छन् वा विदेशी नागरिक मात्र ? आम नागरिकको निगरानीमा अहिलेका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी परेका छन् । नेपाली नागरिकका लागि क्यासिनो प्रवेश कानूनमा त बन्देज भएको कुरा नेपाली नागरिकलाई बुझाउन वा सचेत गराउन पक्राउ परेका १७ जनालाई कडा कारबाही जरूरी छ । प्रहरीले मुद्दा फितलो बनाएर सामान्य धरौटीमा छाड्ने प्रवृत्ति दोहोरियो भने नेपाली क्यासिनो घर सुधार हुने आशा गर्न सकिँदैन । त्यसैले पक्राउ गरेका व्यक्तिलाई कडा कारबाही गर्नु पर्दछ । क्यासिनो घरहरु मापदण्डअनुसार भए नभएको र त्यहाँ प्रवेश गर्ने नागरिकको बेला बेला अनुगमन गर्नु अपरिहार्य छ ।
































