भद्रपुर । अवैधरूपमा भारतीय माछा नेपाल भित्रिने क्रम अझै रोकिएको छैन । झापा गाउँपालिका–१ अन्तर्गत लसुना र रसुनगञ्ज मुख्य नाका पर्दछन् । यी नाकाबाट अवैधरूपमा क्वारेन्टाइन जाँच विना भन्सार छलेर कारोबारीले माछा भिœयाइरहेको विभिन्न घटनाक्रमले पुष्टि गरेको छ । भिœयाइएका माछा प्रहरीले पटक–पटक बरामद गरे पनि अझै सो गतिविधि रोकिएको छैन ।

आइतबार दिउँसो पनि इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ अवैधरूपमा भिœयाइएको १ सय २० केजी माछा बरामद गरेको छ । प्रहरीले झापा गाउँपालिका–४ नयाँ बस्तीमा मोटरसाइकलमा हालेर ल्याएको करिब ५० हजार मूल्य बराबरको सिलन माछा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गत मङ्सिर २१ गते सोही नाकाबाट भिœयाइएको ४ सय १७ केजी माछा जिल्ला प्रहरी कार्यालय झापाको टोलीले बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा कनकाई नगरपालिका–३ सव–डिभिजन वन कार्यालयनजिकै बाटोछेउमा झापा गाउँपालिकाबाट सवारीसाधनमा राखेर सुरुङ्गातर्फ लैजाने क्रममा प्रहरीले एक लाख ५० हजारको मुङ्ग्री, सिलन, रहु र बम्प्लेट जातका माछा बरामद गरेको थियो । बरामद गरिएको माछामध्ये मुङ्ग्री माछा नेपालमा प्रतिबन्धित भएको प्रहरीको भनाइ छ ।

माछा कारोबारीहरूले माछाको कार्टुन भारतीय सीमामै खोलेर झोलामा राखेर माछा मोटरसाइकलमार्फत् नेपाल भिœयाएर भण्डारण गर्ने, त्यसपछि भण्डारण गरेका माछा टेम्पो तथा पिकअपमा राखेर सुरुङ्गा, बिर्तामोडलगायतका बजारसम्म पु¥याउने गरेको कारोबारीले नै बताउने गरेका छन् ।