धरान । कोशी राजमार्ग अन्तर्गत इटहरी– विराटनगर लाइनमा चल्ने सवारी साधनका ९ जना चालकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
सवारी चलाउँदै गर्दा लागूपदार्थ सेवन(लापसे) गरी सवारी चलाउने गरेको सूचना प्राप्त भएपछि प्रहरीले सवारी चेकजाँच गर्दा ९ जना चालक लागूपदार्थ सेवन गरेको अवस्थामा सोमबार पक्राउ परेका हुन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी अस्पताल सुनसरी तथा इलाका प्रहरी कार्यालय नेमुवाको संयुक्त टोलीले सोमबार दिउँसो १ बजेको समयमा मोरङको बूढीगङ्गा गाउँपालिका वडा नं. ४ स्थित नेमुवा चोक नजिकको कोशी लोकमार्ग क्षेत्रमा सवारी चेकजाँच गरिएको हो ।
सवारी चेकजाँचका क्रममा सवारी चालक इटहरी –८ का ३० वर्षीय करण हरिजन, वराहक्षेत्र–७ का ३२ वर्षीय विमल कोइराला, इनरुवा–३ का ३१ वर्षीय किरणकुमार मण्डल, भोजपुर रामप्रसादराई गाउँपालिका वडा नं. ५ का ३१ वर्षीय आङछिरिङ शेर्पा, सुनसरी जिल्ला मधेशा गाउँपालिका –६ का २६ वर्षीय सुरेश मोची, इनरुवा नगरपालिका वडा नं. ३ कै २० वर्षीय कुमार विश्वकर्मा, विराटनगर–१९ का १८ वर्षीय ब्रह्मदेव ऋषिदेव, राजविराज–८ का २५ वर्षीय अमन यादव र दुहबी–३ का ३२ वर्षीय श्रीनारायण चौधरीको लागू पदार्थ सेवन परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रहरीले जनाएको छ । लागूपदार्थ सेवन गरी सवारी साधन चलाएको पुष्टि भएपछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ । उनीहरूविरुद्ध लागूपदार्थ सेवन कसूरमा मुद्दा दर्ता गरी आवश्यक थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डिएसपी कोपिला चुडालले जानकारी दिइन् ।
प्रहरीले लागूपदार्थ सेवन गरी सवारी चलाउँदा चालक स्वयम् तथा सर्वसाधारणको ज्यान जोखिममा पर्ने भन्दै यस्ता कार्य नगर्न सबै सवारी चालकलाई सचेत गराउँदै आएको छ ।































