विराटनगर । विदेशी पर्यटक भित्र्याएर विदेशी मुद्रा आर्जन गर्ने उद्देश्यले अनुमति पाएका विराटनगरका तारे होटलभित्र सञ्चालित क्यासिनोहरू नेपाली नागरिकलाई ‘कंगाल’ बनाउने र सामाजिक अपराध फैलाउने अखडा बन्दै गएको पाइएको छ।
कानूनको धज्जी उडाउँदै नेपाली नागरिकलाई निर्वाध प्रवेश गराई जुवा खेलाउने दुई क्यासिनोमा मोरङ प्रशासनले आइतबार मध्यरातमा छापा मारेको छ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको विशेष टोलीले सञ्चालन गरेको उक्त ‘अपरेसन’ का क्रममा जुवा खेलिरहेका १४ जना नेपाली तथा क्यासिनो सञ्चालकसहित १७ जनालाई नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा समाजका प्रतिष्ठित भनिएका व्यक्तिहरू पनि छन्। छापाका क्रममा विश्वविद्यालयका पूर्व निर्देशक, होटल सञ्चालक, ‘जेन जी’ अभियन्तादेखि ठूला व्यवसायीसम्म जुवाको खालबाटै पक्राउ परेका छन्। यस अपरेसनले क्यासिनो सञ्चालक, केही भ्रष्ट कर्मचारी र स्थानीय बिचौलियाबीच वर्षौंदेखि कायम रहेको ‘सेटिङ’ लाई समेत उदाङ्गो बनाएको छ।
छापा मार्ने क्रममा क्यासिनो छिर्न नेपालीहरूले भारतीय ‘आधार कार्ड’ लाई आफ्नो सुरक्षा कवचका रूपमा प्रयोग गर्दै आएको तथ्य खुलेको छ। नेपालको कानूनले नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्ण प्रतिबन्ध लगाए पनि विराटनगरका क्यासिनोमा छिर्ने ‘प्लेयर’ हरूले खल्तीमा भारतीय आधार कार्ड बोकेर हिँड्ने गरेको पाइएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार विराटनगरका अधिकांश नियमित जुवाडे—व्यापारी र युवाहरू—ले भारतीय आधार कार्ड बनाएका रहेछन्।
“उनीहरू गेटमा ‘इन्डियन हौं’ भन्दै आधार कार्ड देखाएर प्रवेश गर्छन्। यसपालि हामीले केवल आधार कार्डमै विश्वास गरेनौँ, ‘डबल भेरिफिकेसन’ गर्यौँ,” कोइरालाले भने, “जब उनीहरूका एटीएम कार्ड, ड्राइभिङ लाइसेन्स र अन्य परिचयपत्र माग्यौँ, तब उनीहरू नेपाली भएको पुष्टि भयो र रङ्गेहात समातिए।”
प्रहरीले आइतबार राति बिग होटलस्थित ‘च्याम्पियन जोन क्यासिनो’ र रत्न होटलभित्र सञ्चालित ‘गोल्डेन क्यासिनो’ बाट २० जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये तीन जना क्यासिनोमा कार्यरत कर्मचारी रहेका छन्। पक्राउ परेकामध्ये तीन जनाले नेपाली नागरिकलाई भित्र प्रवेश गराई जुवा खेलाउने गरेको र १४ जना खेल्न आउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ सूचीले समाजको उपल्लो तहका व्यक्तिहरू कसरी जुवाको लतमा फस्दै गएका छन् भन्ने चित्रण गर्दछ।
पक्राउ पर्नेमा पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका पूर्व डाइरेक्टर तेजराज गिरी पनि छन्। विराटनगर निवासी गिरी विश्वविद्यालयको गरिमामय पद सम्हालिसकेका व्यक्ति हुन्। त्यस्तै, बिग होटलका डाइरेक्टर हरि भट्ट, बिग होटलभित्रको ‘च्याम्पियन जोन’ व्यवस्थापनमा संलग्न रामकृष्ण गौतम तथा रत्ना होटलभित्र सञ्चालित ‘गोल्डेन क्यासिनो’ का प्रबन्धक रामकृष्ण बस्नेतलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले विराटनगरका रूपेश दाहाललाई समेत नियन्त्रणमा लिएको छ। उनी पछिल्लो समय ‘जेन जी’ आन्दोलनका अगुवाका रूपमा चिनिँदै आएका छन्। पक्राउपछि उनले आफू क्यासिनोमा ‘डान्सर’ का रूपमा काम गर्ने दाबी गरे पनि प्रहरीले त्यसको पुष्टि हुने कुनै आधार फेला नपरेको जनाएको छ।
त्यसैगरी विराटनगरका कृष्णकुमार कुर्मी, विवेककुमार मण्डल, काठमाडौंबाट राज लामा, सुन्दरहरैंचाका आदेश विक, बूढीगङ्गा घर भएका महमद जाकिर हुसेन, दमकका घनश्याम शर्मा, कटहरीका सुरज राय, उदयपुरका सन्तोष बस्नेत, इटहरीका प्रमोद घिमिरे, विराटनगरका पवन गोस्वामी, साजन साह र सुरज राय पनि पक्राउ परेका छन्।
लामो समयदेखि क्यासिनोका कारण नेपाली परिवारको घरबार उजाडिएको गुनासो प्रशासनमा पुग्दै आएको थियो।
“हामीकहाँ पटक–पटक पीडित परिवारका सदस्यहरू आएर ‘घरबार सकियो, छोरा र श्रीमान्लाई क्यासिनोको लत लाग्यो, प्रशासनले किन नहेरेकोरु’ भन्दै रुवाबासी गर्थे,” सहायक प्रजिअ कोइरालाले भने। यही गम्भीर अवस्थालाई मध्यनजर गर्दै छापा मारिएको उनले बताए।
विराटनगरका ठूला व्यापारिक घरानाका युवाहरू क्यासिनोका कारण टाट पल्टिएको र समाजमा ऋणको भार बढेको सूचनाका आधारमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले विशेष अपरेसनको निर्देशन दिएका थिए।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले कानूनलाई चुनौती दिने कसैलाई पनि नछोडिने चेतावनी दिएका छन्। उनले पक्राउ परेकाहरूमाथि जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए।
“नक्कली भारतीय आधार कार्ड प्रयोग गरेर क्यासिनो प्रवेश गर्ने गिरोहको पहिचान भइरहेको छ। विदेशीका लागि मात्र सञ्चालित स्थानमा नेपालीलाई प्रवेश गराउनु अपराध हो,” एसपी कटुवालले भने।































