धरान । सातौँ संस्करणको कोशी प्रदेशस्तरीय अन्तरस्कुल डिआइजिपी रनिङ फुटबल प्रतियोगिता भोलि (बुधबार) बाट सुरु हुँदै छ । प्रतियोगितामा प्रदेशका १६ टिम सहभागी छन् ।
आयोजक नेपाल पुलिस स्कुल धरानले सोमबार पत्रकार सम्मेलन गरी बुधबार नेपाल पुलिस स्कुल रातो र भरौल विद्या मन्दिर वराहक्षेत्रबीच उद्घाटन खेल हुँदै छ । यही पुस १९ गतेसम्म हुने प्रतियोगितामा विजेताले नगद ८१ हजार पाँच रुपैयाँ र उपविजेताले नगद ४१ हजार पाँच रुपैयाँसहित ट्रफी पाउने प्रतियोगिता संयोजक इन्स्पेक्टर सुरेशकुमार हायूले जानकारी दिए ।
प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पनि नगदसहित मेडल प्रदान गरिने उनले जानकारी दिए । यस्तै विधागततर्फ बेस्ट गोलरक्षक, डिफेन्स, हाइस्कोर, कोच, मिडफिल्डर, उदयीमान खेलाडी, सर्वोत्कृष्ट खेलाडीलाई नगदसहितले पुरस्कृत गरिने जनाइएको छ ।
कक्षा १० सम्मका विद्यार्थीहरूबीच गरिने प्रतिस्पर्धामा आयोजकतर्फबाट नेपाल पुलिस स्कुल रातो र नीलो साथै धरानको प्रभात सेकेन्डरी बोर्डिङ स्कुल, डिपोट सेकेन्डरी स्कुल, सैनिक आवासीय महाविद्यालय, माउन्ट हर्मन एकेडेमी, ज्ञानोदय माध्यमिक विद्यालय, मोरङको सिद्धार्थ सेकेन्डरी स्कुल, दिल्ली पब्लिक सेकेन्डरी स्कुल, आदर्श इङ्लिस स्कुल, सफल सिद्धार्थ एकेडेमी, पिनाकल ज्ञान मन्दिर, वाल्मीकि मेमोरियल बोर्डिङ स्कुल, झापाको निधी सेकेन्डरी स्कुल, वाल्मीकि एजुकेसन फाउन्डेसन र वराहक्षेत्रबाट भरौल विद्या मन्दिर सहभागी छन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूलाई कक्षा ११ मा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिने प्रतियोगिताका सल्लाहकार एवम् प्राचार्य मनिका सुब्बा राईले जानकारी दिइन् ।
उद्घाटनको दिन मार्चपास, तेक्वान्दो पुम्से, झाँकी प्रदर्शन, सांस्कृतिक नृत्यलगायत रहने जनाइएको छ । प्रतियोगिता नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीको खेलमैदानमा हुने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट समाचार प्रसारण गरेबापत नगदसहितले पुरस्कृत गरिने भएको छ ।






























