धरान। रगुनाथ झा प्रतिकेजी १० रुपैयाँबाट धरानमा सुन्तला बेच्न थालेका खुद्रा व्यापारी हुन् । अहिले एक सय ५० रुपैयाँ केजी पुगेको छ ।
लामो समयदेखि सुन्तला बेच्दै आएका उनले व्यापारमा धेरै फेरबदल भएको बताए । विगतमा धरानमा मात्रै सुन्तलाको बजार थियो । अहिले धरानबाहिर पनि सुन्तला जाने गरेको छ । व्यापारीहरूले पहाडबाट सिधै अन्य बजारमा पु¥याउने गरेका छन् । “मैले १० रुपैयाँ केजीबाट सुन्तला बेचेको हुँ, अहिले एक सय ५० रुपैयाँ प्रतिकेजी पुगिसक्यो”–उनले भने ।
अहिले धरानमा एक सय ५० रुपैयाँ प्रतिकेजी बिक्री हुँदै आइरहेको छ । अर्का खुद्रा व्यापारी केबी खड्का ५० रुपैयाँ प्रतिकेजीबाट आफूले सुन्तला बेच्दै आएको बताउँछन् । उनी भन्छन्, “मैले सुरु गर्दा ५० रुपैयाँ केजीले बेच्न थालेको थिएँ । अहिले एक सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ ।” धरानस्थित कृषि उपज बजार स्थलमा गतवर्ष ६२ करोड १५ लाख रुपैयाँ कारोबार गरेको थियो । कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा ५ हजार ६ सय ५० मेट्रिक टन सुन्तला बिक्री भएको थियो ।
गतवर्ष प्रतिकेजी औसत मूल्य एक सय ५ रुपैयाँमा बिक्री भएको थियो । गत आर्थिक वर्षको मङ्सिरसम्म एक हजार ७ सय ९० मेट्रिक टन बिक्री गरिएको थियो । उनका अनुसार करिब १७ करोड बराबरको कारोबार मङ्सिरसम्म भएको थियो ।
गत आर्थिक वर्षको तुलनामा करिब २५ प्रतिशतसम्म बढी हुने आँकलन गरिएको छ । चालु आर्थिक वर्षको मङ्सिरसम्म दुई हजार मेट्रिक टन बिक्री भइसकेको छ भने औसत कारोबार २० करोड १० लाख बराबरको भएको व्यवस्थापक भट्टराईले जानकारी दिए । “हिजोआज ३५ देखि ५० टनसम्म कारोबार भएको छ”–उनले भने ।
धरानमा विशेषगरी भोजपुर, धनकुटा, सङ्खुवासभासम्मका सुन्तला आउने गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादन केही वृद्धि भएको बताइन्छ । गत वर्षभन्दा करिब २५ प्रतिशत बढी सुन्तला भित्रिएको व्यवस्थापक भट्टराईले जानकारी दिए ।
विशेषगरी कात्तिक १५ गतेदेखि बजारमा सुन्तला भित्रिने गरेको छ भने चैतको दोस्रो सातासम्म आउने गरेको उनको भनाइ छ । थोक व्यापारी टीकाराम श्रेष्ठले वार्षिक करिब १२ सय टनभन्दा बढी सुन्तला बिक्री गर्दै आएको बताए । धरान कृषिउपज बजारबाट हाल दैनिक ३० देखि ४० मेट्रिक टन सुन्तला कारोबार भइरहेको छ ।
































