विराटनगर । हातमा मेहन्दीको रङ उत्रिएकै थिएन । विवाहको १० दिनमै नयाँ जीवनको सपना बुनिरहेका बेहुला एक्कासि ‘लागूऔषध तस्कर’ करार भएर हिरासत पुग्छन् । उनी छाँगाबाट खसेजस्तै हुन्छन्, तनावले ढल्छन् । तर यो कुनै अपराधको कथा थिएन, बरु प्रेममा असफल एक युवकले रचेको प्रतिशोधको कहालीलाग्दो घटना थियो ।
मोरङको धनपालथानमा यस्तै एउटा घटना भएको छ । एकतर्फी प्रेम र बदलाको भावनाले मानिसलाई कुन हदसम्मको अपराधी बनाउन सक्छ भन्ने प्रमाणित भएको छ । आफूले मन पराएकी युवती नपाएपछि विशालकुमार सिंहले पहिले युवतीका बुबा र श्रीमान्लाई लागूऔषध मुद्दामा फसाउने असफल प्रयास गरे । धनपालथान–२ का राजीव चौधरीको घरमा अझै विवाहको रमाइलो माहोल थियो । मङ्सिर २७ गते कामविशेषले कर्सिया बजार आएका उनी सिटिजन बैङ्कअगाडि बाइक पार्क गरेर काममा लाग्दा प्रहरीले घे¥यो । बाइकको ‘इन्डिकेटर’ भित्र १३.३१० ग्राम ब्राउनसुगर भेट्यो । भर्खरै विवाह बन्धनमा बाँधिएका राजीवका लागि यो कुनै भयानक सपनाभन्दा कम थिएन ।
निर्दोष हुँदाहुँदै हतकडी लाग्ने भएपछि उनले सहन सकेनन्, ‘हार्ट अट्याक’ जस्तै लक्षण देखिएपछि अस्पताल भर्ना हुनुप¥यो । यही बिन्दुबाट प्रहरीको अनुसन्धानले नयाँ मोड लियो । अभियुक्तको अनुहारमा अपराधीको हैन, फसाइएको व्यक्तिको पीडा झल्किएको मोरङ प्रहरीका एसपी कवित कटवालले महसुस गरे । यो घटनाको तार ६ महिनाअघिको अर्को घटनासँग जोडियो । २०८२ वैशाख २० गते पनि ठ्याक्कै यसैगरी एक व्यक्तिको बाइकमा ब्राउनसुगर भेटिएको थियो । ती व्यक्ति थिए– चन्द्रशेखर मण्डल । रोचक त के भने, चन्द्रशेखर अरू कोही नभएर अहिले पक्राउ परेका राजिवका ससुरा थिए । एउटै घरका ससुरा र ज्वाइँ, उस्तै शैली, उस्तै आरोप ।
यो संयोग मात्र हुन सक्दैनथ्यो भन्ने कोणबाट प्रहरीले अनुसन्धान अगाडि बढाएको एसपी कट्वालले बताए । ससुरा चन्द्रशेखरले ल्याव रिपोर्ट नेगेटिभ आएर सफाइ पाए पनि ज्वाइँमाथि उही षड्यन्त्र दोहोरिएको थियो । प्रहरीले गहिरिएर खोतल्दै जाँदा पत्ता लाग्यो, “लागूऔषधको सुराकी दिने व्यक्ति नै षड्यन्त्रका गोटी रहेछन् ।” प्रहरीलाई खबर गर्ने विराटनगरका राजा खान धोबी पक्राउ परेपछि ‘ब्ल्याक एण्ड ह्वाइट’ सिनेमा जस्तो कथा छर्लङ्ग भयो । उनले स्वीकारे, “मलाई धनपालथानका विशालकुमार सिंहले १० हजार रुपैयाँ दिन्छु भनेर ब्राउनसुगर राख्न र प्रहरीलाई फोन गर्न लगाएका हुन् ।”
‘प्रेमिका’ नपाएपछि प्रतिशोध
घटनाको मुख्य जड थियो– एकतर्फी प्रेम । मुख्य योजनाकार २७ वर्षीय विशालकुमार सिंह गाउँकै एक युवतीलाई मन पराउँथे । उनले विवाहको प्रस्ताव पनि राखे तर युवतीका बुबा चन्द्रशेखरले अस्वीकार गरिदिए ।
त्यही रिस फेर्न उनले पहिले बुबालाई फसाउने जाल बुने । त्यसमा सफल नभएपछि मङ्सिरमा युवतीको विवाह राजिवसँग भयो । ‘आफ्नी प्रेमिका’ अर्काको भएपछि रन्थनिएका विशालले यसपटक निशाना प्रेमिकाको श्रीमान् राजिवतिर सोझ्याए । सहयोगी रोशन तथा पारस मण्डल पक्राउ परेपछि प्रहरी विशालको घर पुग्यो । प्रहरी देख्नासाथ भागेका विशाललाई करिब २ किलोमिटर लखेटेर प्रहरीले नियन्त्रणमा लियो । मोरङ प्रहरी प्रमुख एसपी कटवालका अनुसार यो अपरेसन करिब १७ घण्टा लम्बियो ।
“हामीले प्रक्रिया मात्र हेरेको भए एक निर्दोष युवाको जीवन जेलभित्रै सकिने थियो” एसपी कटवाल भन्छन्, “सूक्ष्म अनुसन्धानले निर्दोषलाई जोगायो र समाजको एउटा कुरूप अनुहारलाई उजागर ग¥यो ।” अन्ततः प्रहरीले निर्दोष राजिवलाई रिहा गरेको छ भने प्रेमको नाममा अपराधको खेती गर्ने विशालसहित चार जनालाई पक्राउ गरेको छ ।
































