धरान । विष्फोटकसम्बन्धी मुद्दामा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार लामा काठमाडौँमा पक्राउ परेका छन् ।
काठमाडौँको कपनबाट उनलाई मङ्गलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पक्राउ गरेको हो । उनको स्थायी ठेगाना धनकुटाको साविक चुङ्माङ–१ (पाख्रिबास नगरपालिका–९) घर भई हाल काठमाडौं जिल्ला बूढानीलकण्ठ नगरपालिका–११ कपनमा बस्दै आएका थिए । सिआईबीका एआईजी मनोज केसीका अनुसार तामाङ विष्फोटक पदार्थसम्बन्धी मुद्दाका आरोपित हुन् । उनलाई पक्राउ गरी पाँचथर पठाइएको छ । २०६९ सालतिर भएको बम विष्फोटमा उनको संलग्नता रहेको भन्दै उजुरी परेको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिसकुमार कर्णले जानकारी दिए । “यो पुरानै मुद्दा हो, त्यही मुद्दामा उनलाई पक्राउ गरी यता पठाइएको छ । अहिले पनि अन द वे मै हो”–उनले फोनसम्पर्कमा भने ।
‘देवराज उपनाम भएका उनी विभिन्न नामबाट परिचित रहेका थिए । उनलाई विश्वक्रान्ति, कुमार लामाको नामबाट बोलाइने गरिन्थ्यो । उनी विभिन्न घटनामा जोडिएको सिआईबीले जनाएको छ । उनी २०६८ साल फागुन १५ गते काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम विष्फोट गराएको घटनामा पनि जोडिएको सिआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले विज्ञप्तिमा उल्लेख गरेका छन् । उक्त घटनामा मानबहादुर तामाङसहित तीनजनाको मृत्यु भएको थियो । उक्त घटनामा सोम तामाङ घाइते भएका थिए । उक्त घटनामा श्यामबहादुर तामाङले जाहेरी दिएका थिए । उनीमाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी परेको थियो ।
यस्तै २०६९ साल असार १२ गते पाँचथर साविक लुङ्रूप्पा–२ भुसपातेमा विष्फोटक पदार्थसहित फेला परी पक्राउ गरी मुद्दा दर्ता भएकोमा निजलाई तत्काल कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा परेको थियो । उनलाई उक्त मुद्दामा कारबाहीका लागि केन्द्रीय कारागार नख्खु पठाइएकोमा २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन छुटेका थिए । त्यसपश्चात् निज उपर जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा फरार रहेका थिए । यता हर्क साम्पाङले आफ्नो फेसबुक पेज हर्क साम्पाङ अ रेभुलेसनमा लेखेका छन्, “के भएको हो सो बुझेर जानकारी दिनेछौँ । कुरा बुझ्दा क्रान्तिको बेलाको हो भन्ने सुन्दै छु, प्रारम्भिकरूपमा प्रतिशोध भन्ने आएको छ ।”
































