धरान । माङ्मालुङ चिया बगानका सञ्चालकहरूले करोडौँ रुपैयाँ हिनामिना गरेको आरोपसहित पीडित शेयरधनी उच्च अदालत पाटन पुगेका छन् ।

दर्ता नं. १४२४ मा दायर मुद्दा अघि बढाउँदै शेयरधनी तथा कलाकार नवल खड्कासहितको टोलीले सञ्चालक समितिले गिरिबन्धु टी–स्टेटमा जस्तै नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् । उपत्यका संयोजक हिमाल राईका अनुसार शेयरधनीलाई जानकारी नदिई करिब ८० रोपनी जग्गा गैरकानूनीरूपमा बिक्री गरिएको छ । केन्द्र प्रसाईंको मुख्य योजनामा ‘माई होम माई गार्डेन’ शीर्षकमा सायौं व्यक्तिबाट रकम उठाइए पनि त्यसको कुनै लेखाजोखा नरहेको उनीहरूको आरोप छ ।

व्यवस्थापकीय सुझाव समितिले आ.व. २०७२/०७३ देखि २०७८/०७९ सम्मका आर्थिक विवरणमा नौ करोड २१ लाखभन्दा बढी रकम अपारदर्शी रहेको प्रतिवेदन दिएको संस्थापक शेयरधनी बीबी राईले बताए । नवल खड्काका अनुसार हालसम्म करिब १५ करोड रुपैयाँ नीतिगतरूपमा दुरुपयोग भएको देखिन्छ । शेयरधनीहरूले बिल–भर्पाइविना लेखापरीक्षण, अवैध ऋण लेनदेन, नियमविपरीत चेक वितरण, मजदुरको ज्यालामा करोडौँ खर्च गरेको देखाएर पनि भर्पाइ नभएको, लेखा समितिका सुझाव बेवास्ता गरिएको, सचिव र कर्मचारी नियमावली नबनाइएकोलगायतका कमजोरीले कम्पनीलाई सङ्कटतर्फ धकेलिएको आरोप लगाएका छन् ।

कम्पनी स्थापनाकालदेखि नै प्राकृतिक अर्थोडक्स चियालाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्यसहित लगानी गरेका शेयरधनीहरूले सञ्चालक समितिका कार्यकारी निर्देशक केदार लामिछाने, अध्यक्ष किरण राई, सदस्य केन्द्र प्रसाईं र मणि भण्डारीलगायतको अनियमितताबाट संस्थान नै जोखिममा परेकाले सम्बन्धित निकायदेखि न्यायालयसम्म पुगेर लड्न बाध्य भएको नायक खड्काले बताएका छन् ।